काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा आज सरकारका उपलब्धि र कार्यप्रगतिको विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे विशेष कार्यक्रममार्फत सरकारका १०० दिनका प्रमुख उपलब्धि, कार्यसम्पादनको समीक्षा तथा विभिन्न मन्त्रालयले हासिल गरेका प्रगतिको विवरण सार्वजनिक गरिनेछ।
सरकार गठन भएको ठीक १०० दिन पुगेको अवसरमा सार्वजनिक गरिने प्रतिवेदनमा सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, विकास निर्माण, प्रशासनिक सुधार तथा पारदर्शिताका क्षेत्रमा भएका कामहरूको मूल्यांकन समेटिने जनाइएको छ।
जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनको परिणामस्वरूप गत फागुन २१ गते निर्वाचन सम्पन्न भएको थियो भने त्यसपछि चैत १३ गते बालेन शाह नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। प्रधानमन्त्री शाहले शपथ ग्रहण गरेकै दिन सरकारले पहिलो १०० दिनभित्र सम्पन्न गर्ने प्राथमिकतायुक्त कार्यक्रमहरूको सूची सार्वजनिक गरेका थिए।
सरकारले सुरुदेखि नै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जनमुखी सेवा प्रवाह र प्रशासनिक सुधारलाई मुख्य प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। आज सार्वजनिक हुने विवरणबाट ती प्रतिबद्धतामध्ये कति कार्यान्वयन भए, कुन क्षेत्रमा उल्लेखनीय प्रगति भयो र आगामी दिनका प्राथमिकता के हुनेछन् भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।
सरकारको १०० दिने कार्यसम्पादनलाई लिएर राजनीतिक वृत्त, नागरिक समाज तथा सर्वसाधारणको चासो उच्च रहेकाले आज सार्वजनिक हुने उपलब्धि विवरणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend