सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सङ्घीयता र समावेशितामाथि हस्तक्षेप स्वीकार्य छैनः रास्वपा सांसद अमरेश सिंह

सङ्घीयता र समावेशितामाथि हस्तक्षेप स्वीकार्य छैनः रास्वपा सांसद अमरेश सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति पारित भएपछि सोही पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीयता र समावेशी शासन प्रणालीको पक्षमा दृढ अडान व्यक्त गरेका छन्।

जनकपुरधामबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि कुनै पनि प्रकारको हस्तक्षेप गर्न खोजिए नेपाली जनताले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उनले नेपालको संविधानले स्थापित गरेका लोकतन्त्र, सङ्घीयता र समावेशिताका मूल्यमान्यतामाथि सम्झौता हुन नसक्ने स्पष्ट पारे।

‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट फेरि पनि भन्न चाहन्छु, नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्न खोज्यो भने नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्नेछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सिंहले जनताको प्राथमिकता राजनीतिक संरचनामा फेरबदलभन्दा पनि सुशासन, विकास र समृद्धि भएको उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दल र जनप्रतिनिधिले त्यही दिशामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्। जनताले प्रभावकारी सेवा प्रवाह, पारदर्शी शासन र आर्थिक समृद्धिको अपेक्षा गरेको भन्दै आफू सधैं जनताको पक्षमा उभिने उनले बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनले प्रदेश सभा खारेज गर्ने नीति दस्तावेज पारित गरेसँगै उक्त विषय राजनीतिक वृत्तमा बहसको केन्द्र बनेको छ। पार्टीभित्रैबाट निर्वाचित सांसदले त्यसप्रति असहमति जनाएपछि यो बहसले थप चर्चा पाएको छ।

पार्टी र वर्तमान सरकारका गतिविधिप्रति पछिल्लो समय आलोचनात्मक अभिव्यक्ति दिँदै आएका सिंह रास्वपाको प्रथम महाधिवेशनमा समेत सहभागी भएका थिएनन्। महाधिवेशनपछि आएको उनको पछिल्लो अभिव्यक्तिलाई पार्टीको प्रदेश सभा खारेज गर्ने नीतिप्रति स्पष्ट असहमतिको रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend