काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। बैंकको जेठ १८ गते सम्पन्न २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका अग्रवालले आगामी चार वर्षका लागि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
नवनियुक्त अध्यक्ष अग्रवालले नियुक्तिपश्चात् सोही दिन विश्वनाथ पौडेल बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बैंकका अनुसार अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बिमा उद्योग तथा कर्पोरेट व्यवस्थापनमा लामो समयदेखि सक्रिय नेतृत्व प्रदान गर्दै आएका छन्। विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको बैंकले जनाएको छ।
दूरदर्शी सोच, स्पष्ट रणनीति र दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको नेतृत्वमा बैंकले थप व्यावसायिक विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा नयाँ उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।
बैंकले नयाँ नेतृत्वसँगै संस्थागत सुशासन, नवप्रवर्तन र ग्राहककेन्द्रित सेवामार्फत वित्तीय क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो पहिचानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend