काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको भनिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
आइतबार जारी विज्ञप्तिमा अध्यक्ष निरौलाले नेपाली जनता शान्तिप्रिय रहेको, देशको आवश्यकता शान्ति, स्थायित्व र विकास भएको उल्लेख गरेका छन्। उनले नेपालीहरूले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न इतिहासमा ठूलो बलिदान दिएको स्मरण गराउँदै आवश्यक परे फेरि पनि त्यसका लागि पछि नपर्ने बताएका छन्।
विज्ञप्तिमा नेपाल र भारतबीच खुला सिमाना हुँदाहुँदै पनि दुई देशको सम्बन्ध ऐतिहासिक रूपमा सौहार्दपूर्ण रहेको उल्लेख गरिएको छ। नेपालले कसैको भूमि नमिचेको र छिमेकी राष्ट्रसँग द्वन्द्व सिर्जना गर्ने गतिविधिमा संलग्न नभएको दाबी गर्दै नेपाल–भारत सम्बन्धमा दरार उत्पन्न गराउने प्रयास भइरहेको आरोप पनि लगाइएको छ।
अध्यक्ष निरौलाले जेठ १७ गते संसदमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई निन्दनीय र राष्ट्रहितविपरीत भनेका छन्। उनले वर्तमान राज्य व्यवस्थाले देशको स्वाधीनता जोगाउन नसक्ने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई तत्काल पदमुक्त गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
विज्ञप्तिमार्फत उनले प्रधानमन्त्रीको मन्त्रिपरिषद् तत्काल विघटन गर्न तथा यस सम्बन्धमा आवश्यक कदम चाल्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्। यस्ता अभिव्यक्तिलाई राष्ट्रद्रोहसँग जोडेर हेर्नुपर्ने भन्दै सम्पूर्ण नेपाली नागरिक सचेत हुनुपर्ने उनको भनाइ छ। विज्ञप्तिको अन्त्यमा अध्यक्ष निरौलाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने उल्लेख गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend