काठमाडौं । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिव चेत बहादुर खडका (गौतम) ले सरकारले जल पर्यटन क्षेत्रलाई आवश्यक प्राथमिकतामा राख्न नसकेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । विगत एक दशकदेखि पानी जहाज सञ्चालन तथा उत्पादन क्षेत्रमा सक्रिय रहेका उनले नेपालजस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुकमा जल पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि राज्यले यसलाई योजनाबद्ध रूपमा अघि बढाउन नसकेको बताएका हुन् ।
खबर ब्रेकिंग डटकमसँगको विशेष कुराकानीमा उनले नेपालका ताल, नदी र हिमाली जलस्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्न सकिए पर्यटन उद्योगले नयाँ उचाइ लिने दाबी गरे । उनका अनुसार नेपालमा जल पर्यटन केवल मनोरञ्जनको साधन मात्र नभई देशको अर्थतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण आधार बन्न सक्छ । तर, सरकारी नीति तथा कार्यक्रममा यस क्षेत्रलाई उपेक्षा गरिनु दुःखद भएको उनको भनाइ छ ।
उनले नेपालका विभिन्न जलक्षेत्रको सम्भावनाबारे चर्चा गर्दै भरत ताल, फेवाताल, बुलबुल ताल, कोशी, नारायणी तथा हिमनदी क्षेत्रमा पानी जहाज सञ्चालनको प्रशस्त सम्भावना रहेको बताए । ती क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने भए पनि पर्याप्त पूर्वाधार, नीतिगत स्पष्टता र सरकारी सहकार्य अभावका कारण व्यवसायीहरूले ठूलो चुनौती झेल्नुपरेको उनले बताए ।
“नेपालमा पानी जहाज बिग्रिएपछि मर्मत गर्न अत्यन्त कठिन छ । आवश्यक पार्टपुर्जा पाइँदैन । विदेशबाट ल्याउनुपर्छ । यसले समय र खर्च दुवै बढाउँछ,” उनले भने, “यो निकै जोखिमयुक्त व्यवसाय हो । तर सम्भावना पनि उत्तिकै ठूलो छ । राज्यले संरक्षण र सहजीकरण गरिदिने हो भने जल पर्यटन नेपालको आर्थिक विकासको नयाँ आधार बन्न सक्छ ।”
उनले जल पर्यटनलाई केवल निजी क्षेत्रको व्यवसायको रूपमा नहेरी राष्ट्रिय आर्थिक रणनीतिसँग जोड्नुपर्ने धारणा राखे । नेपालमा हिमाल, नदी, ताल र प्राकृतिक सौन्दर्य विश्वमै अद्वितीय भएकाले यसको उचित उपयोग गर्न सके देशको पर्यटन क्षेत्रले नयाँ गति लिने उनको विश्वास छ ।
उनका अनुसार अहिले नेपालको पर्यटन क्षेत्र धेरै हदसम्म सीमित संरचनामा निर्भर छ । धार्मिक पर्यटन, हिमाली पर्यटन र ट्रेकिङको चर्चा हुने भए पनि जल पर्यटनजस्तो सम्भावनायुक्त क्षेत्र ओझेलमा परेको छ । सरकारले दीर्घकालीन योजना बनाएर लगानीको वातावरण तयार गर्ने, व्यवसायीलाई प्रोत्साहन दिने र प्राविधिक जनशक्ति उत्पादन गर्ने हो भने हजारौँ युवालाई रोजगारी दिन सकिने उनले बताए ।
उनले पर्यटन क्षेत्रलाई राज्यले सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै भने, “नेपालको अर्थतन्त्र कमजोर भइरहेको बेला पर्यटन नै सबैभन्दा बलियो आधार बन्न सक्छ । यदि राज्यले नीतिगत रूपमा पर्यटनलाई व्यवस्थित गर्न सक्यो भने आर्थिक रूपमा धेरै फाइदा पुग्छ । विदेशी मुद्रा भित्रिन्छ, रोजगारी बढ्छ र स्थानीय अर्थतन्त्र चलायमान हुन्छ ।”

चेतबहादुर खडकाले कृषि क्षेत्रबारे पनि आफ्नो धारणा राख्दै नेपालमा सामूहिक लगानीमार्फत आधुनिक कृषि उत्पादन बढाउनुपर्ने बताए । व्यक्तिगत प्रयासभन्दा सहकारी वा समूहगत कृषि प्रणाली प्रभावकारी हुने उनको भनाइ छ । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी देश समृद्ध बन्न नसक्ने उल्लेख गरे ।
“देश विकासका लागि कृषिमा सामूहिक लगानी आवश्यक छ,” उनले भने, “हामीसँग जमिन छ, जनशक्ति छ, तर व्यवस्थापन कमजोर छ । आधुनिक प्रविधि र संगठित लगानीमार्फत कृषि उत्पादन बढाउन सकिन्छ ।”
उनले शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको पनि बताए । अहिलेको परम्परागत शिक्षा प्रणालीले युवालाई व्यवहारिक जीवन र रोजगारीसँग जोड्न नसकेको उनको टिप्पणी छ । सीपमूलक तथा प्राविधिक शिक्षामा राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनको जोड छ ।
“आजको आवश्यकता प्राविधिक शिक्षा हो,” उनले भने, “किताबी ज्ञान मात्र भएर हुँदैन । युवालाई सीप दिनुपर्छ । उद्योग, पर्यटन, कृषि र प्रविधिसँग जोडिएको शिक्षा आवश्यक छ । त्यसो भयो भने मात्रै देशभित्रै अवसर सिर्जना हुन्छ ।”
उनले सरकारको हालै सार्वजनिक नीति तथा कार्यक्रममा जल पर्यटनसम्बन्धी कुनै स्पष्ट योजना नसमेटिएको भन्दै दुःख व्यक्त गरे । प्राकृतिक स्रोतको धनी मुलुक भएर पनि त्यसको दीर्घकालीन उपयोगबारे राज्य गम्भीर नदेखिएको उनको आरोप छ ।
उनका अनुसार नेपालमा जल पर्यटनको व्यवस्थित विकास गर्न सके पोखरा, चितवन, कोशी क्षेत्रलगायत विभिन्न स्थानमा नयाँ आर्थिक गतिविधि सिर्जना हुनेछन् । होटल व्यवसाय, यातायात, स्थानीय उत्पादन र रोजगारीमा समेत यसको सकारात्मक प्रभाव पर्ने उनले बताए ।
व्यवसायी खडकाले राज्यले पर्यटन क्षेत्रलाई केवल नारामा सीमित नराखी व्यवहारिक योजना ल्याउनुपर्ने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर दीर्घकालीन पर्यटन नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।
“नेपालमा सम्भावना धेरै छन्, तर योजना र इच्छाशक्ति कमजोर छ,” उनले भने, “यदि सरकारले जल पर्यटन, कृषि र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्यो भने देशको आर्थिक अवस्था परिवर्तन हुन धेरै समय लाग्दैन ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend