सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इप्पान नेतृत्वका लागि उत्तम भ्लोन प्यानल घोषणा

इप्पान नेतृत्वका लागि उत्तम भ्लोन प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उत्तम भ्लोन लामाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । इप्पानको आठौं अधिवेशन आगामी जेठ २९ गते हुँदैछ । वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने भएपछि लामाले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

हाल इप्पानका उपाध्यक्ष रहेका लामाले जलविद्युत् तथा सौर्य ऊर्जा क्षेत्रमा सक्रिय लगानी गर्दै आएका छन् । उनले हालसम्म ७ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेका छन् भने ४५ मेगावाटको कसुवा खोला आयोजना र ९७ मेगावाटको छुजुङ खोला आयोजना निर्माण अगाडि बढाइरहेका छन् । ऊर्जा क्षेत्रसँगै उनी रियल इस्टेट, होटल, एआई डेटा सेन्टर, बैंक तथा बीमा क्षेत्रमा पनि सक्रिय छन् ।

लामाको प्यानलबाट उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, विक्रम बिष्ट र सुसन कर्माचार्य उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । महासचिवमा टिएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल उम्मेदवार छन् ।

यसैबीच लामाले ‘इप्पान भिजन २०२९’ प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन् । उनले निजी क्षेत्रकै योगदानले नेपाल लोडसेडिङमुक्त बनेको उल्लेख गर्दै आगामी दशकमा नेपाललाई दक्षिण एशियाकै प्रमुख ऊर्जा केन्द्र बनाउन सकिने बताएका छन् । प्रतिबद्धता पत्रमा पिपिए अवरोध हटाउने, प्रसारण लाइन विस्तार, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने तथा ‘नेपालमा उत्पादन, दक्षिण एशियामा बिक्री’ अवधारणालाई व्यवहारमा लागू गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend