काठमाडौं । नेपालमा सुशासन, सामाजिक न्याय, नागरिक स्वतन्त्रता तथा संघ–संस्थामैत्री वातावरण निर्माणका विषयमा सार्थक विमर्श तथा साझा प्रतिबद्धता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित राष्ट्रिय नागरिक सम्मेलन २०८३ आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको आयोजना NGO Federation of Nepal ले गरेको हो ।
काठमाडौंको Quality Banquet मा बिहान १०ः३० बजेदेखि सुरु भएको सम्मेलनमा विभिन्न नागरिक अगुवा, सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन सत्र सम्पन्न भइसकेको आयोजकले जनाएको छ । हाल सम्मेलन अन्तर्गत प्यानल छलफल चलिरहेको छ, जहाँ नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अभ्यास, संघ–संस्थामाथि बढ्दो चुनौती, सामाजिक न्यायको अवस्था तथा सुशासन प्रवर्द्धनका उपायबारे गम्भीर बहस भइरहेको छ ।
छलफलमा सहभागी वक्ताहरूले लोकतन्त्रको मूल आधार नागरिक स्वतन्त्रता भएको उल्लेख गर्दै नागरिक समाज र संघ–संस्थामाथि अनावश्यक नियन्त्रण तथा असहज वातावरण सिर्जना हुनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने धारणा राखेका छन् । उनीहरूले राज्यले नागरिक आवाजलाई सम्मान गर्दै संघ–संस्थामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
सम्मेलनमा सहभागी विभिन्न नागरिक अगुवाहरूले सामाजिक न्याय र सुशासनको प्रत्याभूति बिना लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । उनीहरूले नागरिक समाज, सञ्चारमाध्यम र संघ–संस्थालाई लोकतन्त्रका महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गरी सहकार्यको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
आयोजकका अनुसार सम्मेलनले समसामयिक राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्नुका साथै नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन नीतिगत सुझावसमेत प्रस्तुत गर्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend