सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड, पित पत्रकारिताप्रति शर्माको आपत्ति

पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड, पित पत्रकारिताप्रति शर्माको आपत्ति

काठमाडौं । नेपाल संरक्षण अभियानका संयोजक विष्णु प्रसाद शर्माले पत्रकारिता निष्पक्ष, जिम्मेवार र राष्ट्रहितप्रति समर्पित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पत्रकारिताको भूमिका राष्ट्रका लागि सञ्जीवनी सरह हुने उल्लेख गरेका हुन्।

शर्माले पत्रकारिताको मूल आधार निष्पक्षता भएको बताउँदै कुनै एक व्यक्तिविरुद्ध केन्द्रित भएर निरन्तर समाचार, टिप्पणी वा आरोप प्रकाशित गर्नु उचित नहुने धारणा राखेका छन्। उनले आठ पृष्ठको साप्ताहिक पत्रिका नै एक व्यक्तिविरुद्ध केन्द्रित भएर अफवाह फैलाउने शैलीमा प्रस्तुत हुनु पत्रकारिताको मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्।

उनले पत्रकारिता स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा केन्द्रित हुनुपर्ने बताए। स्वार्थभन्दा ठूलो देश हुन्छ, भन्दै उनले पत्रकारिता व्यक्तिगत पूर्वाग्रह, दलगत सोच वा आर्थिक प्रभावबाट मुक्त हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

शर्माले कानून सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै कसैले गल्ती गरे कानूनअनुसार कारबाही हुनुपर्ने धारणा राखेका छन्। तर, अनावश्यक रूपमा व्यक्तिमाथि खेदो खन्ने र त्यसैलाई पेशा बनाउने प्रवृत्तिलाई उनले पित पत्रकारिता को संज्ञा दिएका छन्।

उनले दलगत स्वार्थ र पक्षपातकै कारण राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रले त्यस्तो गल्ती दोहोर्याउन नहुने बताएका छन्। उनका अनुसार पत्रकारिताले निष्पक्षता, सत्य र उत्तरदायित्वलाई आत्मसात् गर्न सके मात्र समाजमा विश्वसनीयता कायम रहन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend