काठमाडौँ । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोबिन्द निरौलाले देशको सार्वभौमिकता संरक्षण र दीर्घकालीन समृद्धिका लागि राष्ट्रिय एकताको अपरिहार्यता औँल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय एकता सुदृढ गर्न राजसंस्था र प्रजातन्त्रबीच सन्तुलन आवश्यक रहेको बताएका छन्।
उनले मुलुकलाई समृद्ध बनाउने दिशामा नागरिक सर्वोच्चता कायम भएको समावेशी प्रजातन्त्र स्थापना हुनुपर्ने धारणा राखेका छन्। साथै, नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै वैद्धिक सनातन धार्मिक राज्यको अवधारणालाई अघि बढाउनुपर्ने उनको भनाइ छ।
निरौलाले आर्थिक समृद्धिको आधार उत्पादन, उद्योग र व्यवस्थित बजार प्रणाली भएको उल्लेख गर्दै त्यसतर्फ राज्यले स्पष्ट नीति लिएर अघि बढ्नुपर्ने बताएका छन्। उनले देश विकासका लागि राजनीतिक स्थायित्व, राष्ट्रिय एकता र आर्थिक नीतिमा स्पष्टता अनिवार्य रहेको जोड दिएका छन्।
उनको अभिव्यक्तिलाई वर्तमान राजनीतिक बहसमा वैकल्पिक दृष्टिकोणका रूपमा हेरिएको छ, जहाँ राज्य संरचना, शासन प्रणाली र आर्थिक विकासको मोडेलबारे पुनर्विचारको आवश्यकता औँल्याइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend