काठमाडौं । डिजिटल मिडिया Shilapatra.com ले ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ सहित विभिन्न आठ विधामा उत्कृष्ट व्यक्तित्व तथा कृतिहरू घोषणा गरेको छ। राजधानीमा आयोजित विशेष समारोहबीच ‘वर्षव्यक्ति विशेष म्यागजिन’ विमोचन गर्दै विजेताहरू सार्वजनिक गरिएको हो।
यस वर्षको प्रमुख सम्मान ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रदान गरिएको छ। नवपुस्ताको ऊर्जा, वैकल्पिक सोच र राजनीतिक बहसलाई नयाँ उचाइमा पुर्याएको मूल्यांकनसहित उनलाई वर्षव्यक्तिका रूपमा चयन गरिएको जनाइएको छ।
साहित्यतर्फ ‘शिलापत्र वर्षपुस्तक २०८२’ डा. नवराज केसी को कृति स्वस्पर्श ले प्राप्त गरेको छ। उक्त कृतिले मानव संवेदना र आत्मअनुभूतिलाई गहिराइमा उतारेको भन्दै प्रशंसा गरिएको छ।
डिजिटल सिर्जनात्मक क्षेत्रमा ‘वल्र्डलिंक शिलापत्र कन्टेन्ट क्रिएटर २०८२’ सुरज सुवेदी घोषित भएका छन्। गीत–संगीतको विश्लेषणात्मक सामग्रीमार्फत उनले ठूलो दर्शकसमूहमा प्रभाव पारेको जनाइएको छ।
खेलतर्फ ‘शिलापत्र वर्षखेलाडी २०८२’ रवीन्द्र ढाँट चयन भएका छन्। अन्तर्राष्ट्रिय एमएमए प्रतियोगितामा हासिल गरेको उपलब्धिलाई आधार मानेर उनलाई सम्मान गरिएको हो।
संगीततर्फ ‘शिलापत्र वर्षकलाकार २०८२’ झुमा लिम्बू घोषित भएकी छन्। मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा उनको योगदान उल्लेखनीय रहेको शिलापत्रले जनाएको छ।
चलचित्र विधामा ‘शिलापत्र वर्षसिनेमा २०८२’ परान चयन भएको छ, जसले पारिवारिक संवेदना र सामाजिक यथार्थलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको जनाइएको छ।
व्यवसाय क्षेत्रमा ‘शिलापत्र वर्षउद्यमी २०८२’ आशिष शर्मा चयन भएका छन्। नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने उनको प्रयासलाई कदर गरिएको हो।
त्यस्तै, ‘द गभर्नर शिलापत्र सीईओ २०८२’ कृष्णप्रसाद न्यौपाने ले प्राप्त गरेका छन्। हस्पिटालिटी क्षेत्रमा नेतृत्व र विस्तारमार्फत उनले विशेष योगदान पुर्याएको जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend