काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले वर्तमान देशको अवस्था र समयको आवश्यकता अनुसार आफ्नो नयाँ घोषणा पत्र सार्वजनिक गरेको जनाएको छ। पार्टीका अध्यक्ष डा. तारानाथ लुईटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै घोषणा पत्र युग सुहाउँदो दृष्टिकोणका साथ तयार गरिएको उल्लेख गरेका छन्।
अध्यक्ष लुईटेलका अनुसार बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक परिवेशलाई ध्यानमा राख्दै पार्टीले आफ्ना नीति तथा कार्यक्रमहरूलाई परिमार्जन गरी नयाँ ढाँचामा प्रस्तुत गरेको हो। उनले अब पार्टी जनतामाझ फरक शैली र नयाँ सोचका साथ जाने तयारीमा रहेको पनि स्पष्ट पारे।
“हामी अब जनताका बीचमा नयाँ ढङ्गले पुग्नेछौं,” अध्यक्ष लुईटेलले फेसबुक पोस्टमा उल्लेख गरेका छन्, “देशको वर्तमान अवस्था र जनअपेक्षालाई मध्येनजर गर्दै हाम्रो घोषणा पत्र सार्वजनिक गरेका हौं।”
पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा समावेश मुख्य एजेन्डा, नीति तथा कार्यक्रमहरूबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन। तर पार्टीले यसलाई जनतासँग प्रत्यक्ष संवाद गर्दै क्रमशः स्पष्ट पार्ने संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय नयाँ विचार र कार्यक्रमसहित जनतामाझ जाने प्रयासमा रहेका दलहरूको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा प्रजातान्त्रिक पार्टी नेपालको नयाँ घोषणा पत्रले कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ।
पार्टीले निकट भविष्यमा देशव्यापी रूपमा आफ्नो कार्यक्रम विस्तार गर्दै जनसम्पर्क अभियानलाई तीव्र बनाउने तयारीसमेत गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend