सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघ–संगठनमाथि प्रतिबन्धको प्रयासप्रति पेसागत महासङ्घ नेपालको आपत्ति

संघ–संगठनमाथि प्रतिबन्धको प्रयासप्रति पेसागत महासङ्घ नेपालको आपत्ति

काठमाडौं । पेसागत महासङ्घ नेपालद्वारा आयोजना गरिएको बधाई कार्यक्रम आज सम्पन्न भएको छ। महासङ्घका अध्यक्ष  पुण्यप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न समसामयिक विषयमा छलफल गर्दै महत्त्वपूर्ण धारणा र निष्कर्षहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले संघ–संगठनमाथि प्रतिबन्ध लगाउने कुनै पनि प्रयासप्रति कडा आपत्ति जनाउँदै यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत हुने बताए। उनले श्रमिक तथा पेशागत अधिकार सुनिश्चित गर्न राज्य सधैं जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी महासङ्घका उपाध्यक्ष भोलानाथ पोखरेलले पनि अध्यक्षको भनाइलाई समर्थन गर्दै संघ–संगठनको स्वतन्त्रता कुण्ठित गर्ने प्रयासले श्रमिक आन्दोलनलाई कमजोर बनाउने चेतावनी दिए। उनले श्रमिक अधिकार संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

महासङ्घका महासचिव केदारप्रसाद देवकोटाले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा राख्दै श्रमिक अधिकार, संगठन स्वतन्त्रता तथा वर्तमान राजनीतिक–सामाजिक अवस्थाबारे गहन विचार विमर्श गरेका थिए।

यसै क्रममा आगामी मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजना गरिने सर्वपक्षीय नागरिक संवाद लगायतका कार्यक्रमहरू कसरी प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने भन्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई थप समावेशी, सार्थक र उपलब्धिमूलक बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्देशलाई आत्मसात गर्दै श्रमिक हित संरक्षण र पेशागत संगठनहरूको सशक्तीकरणमा जोड दिएको आयोजकले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend