काठमाडौं । ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलो बाबु श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सरकार ‘पहिले सुन्ने अनि थुन्ने’ नीतितर्फ उन्मुख देखिएको आरोप लगाउँदै उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकडले निजी क्षेत्र त्रसित बनेको बताएका छन्।
नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था सिर्जना भएको उनको भनाइ छ। “उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित मात्र होइन, भयभीत बनाएको छ,” श्रेष्ठले बताएका छन्।
उनका अनुसार नेपालको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र रोजगारीमा ८६ प्रतिशत भूमिका खेलेको निजी क्षेत्र नै असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय हो। यस्तो परिस्थितिले अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार निर्माणमा समेत नकारात्मक असर पर्ने चेतावनी उनले दिएका छन्।
अध्यक्ष श्रेष्ठले नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्। उनले कानूनी प्रक्रिया र विधिको शासनको पालना गर्दै निजी क्षेत्रसँग सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend