काठमाडौं । सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीहरूको व्यवस्थापनबारे बहस चर्किरहेका बेला एक युवा नेताले व्यक्तिगत सम्पत्ति नै राज्यलाई दिन तयार रहेको घोषणा गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट युवा नेता टेक बहादुर पुन मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस सार्वजनिक गर्दै वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले व्यवस्थापन गर्नुपर्ने बताएका छन्। उनले राज्यले विधिवत् प्रमाणीकरण गरेको खण्डमा आफ्नो नाममा रहेको १५ रोपनी खेतीयोग्य जमिन सुकुम्बासीका लागि हस्तान्तरण गर्न तयार रहेको उल्लेख गरेका छन्।
पुन मगरले गण्डकी प्रदेशको बाग्लुङ जिल्ला, गलकोट नगरपालिका–१० मा रहेको आफ्नो सिंचाइ सुविधा सहितको खेतीयोग्य जग्गा राज्यलाई दिन सकिने स्पष्ट पारेका हुन्। उनले उक्त जमिन सुकुम्बासी परिवारको व्यवस्थापनका लागि उपयोग गरियोस् भन्ने उद्देश्य राखेको बताएका छन्।
उनको भनाइमा, “यदि वास्तविक सुकुम्बासी हुन् भने राज्यले जिम्मेवारी लिएर व्यवस्थापन गरोस्, आवश्यक परे मेरो तर्फबाट १५ रोपनी जमिन सुकुम्बासीको नाममा हस्तान्तरण गर्न म तयार छु।” उनले यस कदमलाई सामाजिक उत्तरदायित्वको रूपमा प्रस्तुत गरेका छन्।
यस्तै, उनले सार्वजनिक सम्पत्तिमा अनधिकृत रूपमा बसोबास गर्ने प्रवृत्तिप्रति पनि कडा टिप्पणी गरेका छन्। वास्तविक सुकुम्बासी र अवैध अतिक्रमणकारी छुट्याउन राज्यले स्पष्ट मापदण्ड लागू गर्नुपर्नेमा उनले जोड दिएका छन्। “अन्यथा सार्वजनिक सम्पत्तिमा हक जमाउनु गैरकानुनी हुनेछ,” उनले लेखेका छन्।
पुन मगरको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा पाएको छ। कतिपयले उनको पहललाई सकारात्मक भन्दै प्रशंसा गरेका छन् भने केहीले राज्यको औपचारिक नीतिगत व्यवस्था बिना यस्ता घोषणाले दीर्घकालीन समाधान नदिने तर्क गरेका छन्।
हाल सुकुम्बासी व्यवस्थापनको विषय सरकारका लागि जटिल चुनौतीको रूपमा रहँदै आएको छ। वास्तविक आवश्यकता भएका नागरिकलाई न्याय दिन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्पष्ट नीति र कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend