काठमाडौं । अमेरिकास्थित ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)को नयाँ कार्यसमिति चयनका लागि आगामी मे २४ मा हुने निर्वाचनलाई लक्षित गर्दै पदम ठकुरी नेतृत्वको प्यानल औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएको छ। ग्यान्स सेन्टरमा हुने उक्त निर्वाचनलाई संस्थाको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्यानलले अध्यक्षमा पदम ठकुरी, वरिष्ठ उपाध्यक्षमा विनोद साह, वरिष्ठ महिला उपाध्यक्षमा ज्ञानु के. कोइराला, उपाध्यक्षमा बोधराज घिमिरे, महासचिवमा विष्णु पहाडी, सचिवमा प्रिन्स भट्ट र कोषाध्यक्षमा यात्री ओलीसहितको टिम सार्वजनिक गरेको छ। विविध अनुभव र पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको यो टोलीले संस्थागत सुधार, एकता र पारदर्शितालाई मुख्य एजेन्डा बनाएको जनाएको छ।
चुनावी अभियानलाई थप सशक्त बनाउन प्यानलले ६ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ। जसअन्तर्गत सबैको भावना समेटिने गरी विधान संशोधन गर्दै “हाम्रो विधान” निर्माण गर्ने, संस्थाको आर्थिक आय–व्ययलाई पूर्ण पारदर्शिता र जिम्मेवारीका साथ सञ्चालन गर्ने तथा विगतमा बाहिरिएका ट्रस्टीहरूलाई सम्मानपूर्वक पुनः समावेश गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी, ग्यान्स परिसरमा सार्वजनिक शौचालय र पार्किङ स्थलको विस्तार गर्ने, संस्था र मन्दिरप्रति अस्टिनबासी नेपालीहरूको सहभागिता र अपनत्व बढाउने तथा “न निषेध, न प्रतिशोध—हामी एक बनौँ” भन्ने मूल नारासहित सहकार्यको वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
प्यानलका प्रतिनिधिहरूका अनुसार हालको समय संस्थालाई विभाजन होइन, एकताको मार्गमा अघि बढाउने नेतृत्वको खाँचो रहेको छ। उनीहरूले ग्यान्सलाई सबैको साझा संस्था बनाउने लक्ष्यसहित आफूहरू अगाडि आएको बताएका छन्।
यस प्यानलको घोषणासँगै अस्टिनबासी नेपाली समुदायमा नयाँ आशा, सहकार्यको भावना र सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ। परिवर्तन, पारदर्शिता र साझा सहभागिता खोजिरहेका मतदाताका लागि यो टोली बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend