सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन पत्रकार महासंघको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन पत्रकार महासंघको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त निर्णयविरुद्ध दबाब सिर्जना गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको हो ।

महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको उक्त निर्णय संविधान, प्रचलित कानून तथा प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको बताइन् । उनले यस्तो निर्णय कार्यान्वयन नगर्न स्थानीय तथा प्रदेश सरकारलाई समेत सचेत गराइएको जानकारी दिइन् ।

अध्यक्ष शर्माले सञ्चार मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिप्रति पनि आपत्ति जनाउँदै पत्रकारहरूको समाचार लेखनमा हस्तक्षेप गर्ने प्रयास भएको आरोप लगाइन् । “समाचारको अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिलको हो,” उनले भनिन्, “सरकारले सामाजिक सञ्जाल नियमनका नाममा तर्साउने शैली अपनाएको छ, जसप्रति हाम्रो घोर आपत्ति छ ।”

उनले प्रेस काउन्सिललाई पूर्ण रूपमा स्वायत्त बनाउनुपर्ने मागसमेत अघि सारिन् । साथै, सरकारले आफ्नो निर्णय फिर्ता नलिए आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने चेतावनी महासंघले दिएको छ ।

सरकारले सरकारी सूचना तथा विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णय गरेपछि त्यसको विरोधमा महासंघ आन्दोलित बन्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend