सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भृकुटीमण्डपका संरचना प्रयोगकर्तालाई ७ दिनभित्र बक्यौता तिर्न अन्तिम ताकेता

भृकुटीमण्डपका संरचना प्रयोगकर्तालाई ७ दिनभित्र बक्यौता तिर्न अन्तिम ताकेता

काठमाडौं । समाज कल्याण परिषदले भृकुटीमण्डप क्षेत्रका स्टल, भवन तथा अन्य संरचना भाडामा लिएर प्रयोग गरिरहेका १८ संस्था तथा व्यक्तिलाई बक्यौता भाडा बुझाउन पुनः ७ दिनको अन्तिम म्याद दिएको छ । परिषदले समयमै भाडा नतिरे कानुनी कारबाही अगाडि बढाउने स्पष्ट चेतावनीसमेत दिएको छ ।

यसअघि परिषदले २०८२ चैत ३० गते सम्बन्धित संरचनामा तालाबन्दी गर्दै वैशाख १ गते ७ दिने म्यादसहित सार्वजनिक सूचना जारी गरेको थियो । उक्त अवधिमा केही संस्था तथा व्यवसायीले आंशिक रकम बुझाए पनि अधिकांशले अझै बक्यौता तिर्न नसकेको परिषदले जनाएको छ ।

परिषदका अनुसार अब थपिएको ७ दिनभित्र पनि बक्यौता नबुझाए प्रचलित कानुनअनुसार असुलउपर प्रक्रिया सुरु गरिनेछ । परिषदले आवश्यक परे थप कडा कदम चाल्न सकिने संकेत पनि दिएको छ ।

बक्यौता तिर्न बाँकी सूचीमा उपभोक्ता मंच नेपाल, नेपाल पत्रकार महासंघ, रिपोर्टर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज, नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय अपाङ्ग महासंघलगायत संघसंस्था तथा व्यक्तिहरू रहेका छन् ।

परिषदले सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मंच नेपालको ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजको १४ लाख ६१ हजार ३७० रुपैयाँ र नेपाल पत्रकार महासंघको ३३ लाख ७ हजार ४२१ रुपैयाँ बक्यौता रहेको छ ।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालको ६३ लाख ४० हजार ९०१ रुपैयाँ, सेन्थेसिस एक्जिविसन एण्ड इभेन्ट्सको ११ लाख २७ हजार १२१ रुपैयाँ, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २ करोड ९० लाख २३ हजार ३७६ रुपैयाँ र राष्ट्रिय अपाङ्ग महासंघको १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ बक्यौता रहेको परिषदले जनाएको छ ।

यसैगरी अन्य व्यक्ति तथा संस्थाहरूको समेत लाखौँदेखि करोडौँसम्म बक्यौता रहेको देखिएको छ, जसले भृकुटीमण्डप क्षेत्रको व्यवस्थापन र राजस्व संकलनमा गम्भीर असर पारिरहेको परिषदको भनाइ छ ।

परिषदले सबै बक्यौता तत्काल तिर्न आग्रह गर्दै समयसीमाभित्र दायित्व पूरा नगर्नेहरूविरुद्ध कडाभन्दा कडा कानुनी प्रक्रिया अपनाइने चेतावनी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend