काठमाडौं । देशलाई समृद्ध र समानतामूलक बनाउन धनी र गरिबबीचको खाडल अन्त्य गर्नुपर्ने माग उठेको छ। प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेल ले विकासको वास्तविक अनुभूति तल्लो वर्गसम्म पुग्नुपर्ने बताउँदै राज्यको नीति त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै नेपाललाई विकसित राष्ट्रको रूपमा हेर्ने चाहना आम जनतामा रहेको उल्लेख गरेका छन्। तर, त्यसका लागि आर्थिक असमानता घटाउनु अनिवार्य रहेको उनको भनाइ छ। विगतमा राजनीतिक परिवर्तनका नाममा राज्यका स्रोत दोहन गरिएको आरोप लगाउँदै उनले अवैध रूपमा आर्जित सम्पत्ति असुलउपर गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
उनका अनुसार बेरोजगारी समस्या समाधान नगरी समृद्धिको लक्ष्य हासिल हुन सक्दैन। वैदेशिक रोजगारीमा निर्भर युवा जनशक्तिलाई स्वदेशमै कृषि र उद्योग क्षेत्रमा अवसर सिर्जना गर्नु सरकारको प्रमुख दायित्व भएको उनले बताएका छन्। उत्पादनमुखी अर्थतन्त्र निर्माण र रोजगारी सृजनामार्फत मात्रै देशमा समृद्धि सम्भव हुने उनको तर्क छ।
डा. लुईटेलले पारदर्शी शासन, कडा कानुनी कार्यान्वयन र उत्पादनमा आधारित अर्थतन्त्रमार्फत मात्र “हासेको नेपाल” देख्न सकिने धारणा राख्दै वर्तमान सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend