सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

 प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति, आम्दानी र लगानीको विस्तृत विवरण सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख गरिएको छ। काठमाडौँ, धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ भने सामाजिक सञ्जालमार्फत एक करोड ४६ लाख रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले चारवटा घर तथा अपार्टमेन्ट रहेको उल्लेख गर्नुभएको छ। उहाँको सम्पत्तिको मुख्य स्रोत विदेशको जागिर रहेको जनाइएको छ। बैंकमा एक करोड ९० लाख रुपैयाँ नगद, ४५ तोला सुन तथा विभिन्न जलविद्युत् आयोजना र एक विकास बैंकमा सेयर लगानी रहेको विवरणमा समावेश छ।

गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ। साथै, चितवनको भरतपुर–१८ गुञ्जनगरमा पिताको नाममा ३० कठ्ठा र गोरखाको चुननुब्रीमा बाजेको नाममा २२१ रोपनी जग्गा रहेको उल्लेख छ। उहाँको सेयर बजारमा चार करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी तथा ८९ तोला सुन रहेको जनाइएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका बुबाको नाममा काठमाडौँमा घर तथा तनहुँ, नवलपुर र नेपालगञ्जमा २८ रोपनीभन्दा बढी जग्गा रहेको छ। उहाँसँग १३ लाख रुपैयाँ नगद, २२ तोला सुन तथा विभिन्न कम्पनीमा सेयर लगानी रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन, ५० तोला चाँदी, विभिन्न बैंकमा नगद तथा सेयर लगानी र सवारीसाधन रहेको उल्लेख गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौँ र चितवनमा घर रहेको छ। उहाँसँग १० लाख ५० हजार रुपैयाँ नगद, विभिन्न बैंक ऋण, १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको उल्लेख छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग २० वटा कुखुरा, एउटा कुकुर, स्कुटर, ल्यापटप, मोबाइल, ५० हजार रुपैयाँ नगद तथा बैंकमा १५ लाख रुपैयाँ बचत रहेको छ। उहाँसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको विवरणमा उल्लेख छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको बैंकमा ९० लाख रुपैयाँ नगद, ३० तोला सुन, ५० तोला चाँदी तथा विभिन्न जिल्लामा घरजग्गा रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग काठमाडौँ र बारामा जग्गा, २५ तोला सुन, २४ लाख रुपैयाँ बचत, २० लाख ऋण तथा ४४ लाख रुपैयाँबराबरको सवारीसाधन रहेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग पाँच तोला सुन, एक सय तोला चाँदी, बैंकमा एक लाख २६ हजार रुपैयाँ बचत तथा दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग काठमाडौँ र महोत्तरीमा जग्गा, १८० तोला सुन, दुई किलो चाँदी, हिराका गहना तथा विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग ३० तोला सुन, ५० तोला चाँदी, बैंक बचत, सेयर लगानी तथा सवारीसाधन रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पोखरामा घर, पैत्रिक जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले काठमाडौँमा घर, स्वदेश तथा विदेशबाट कमाएको आम्दानी, १० लाखभन्दा बढी बचत तथा सुनचाँदी रहेको जनाउनुभएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीमा पैत्रिक घरजग्गा, ८० तोला सुन, १५० तोला चाँदी तथा बैंकमा नगद रहेको विवरणमा उल्लेख छ।

सरकारले सार्वजनिक गरेको यस विवरणलाई पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने कदमका रूपमा लिइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend