काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्च अदालतको आदेशअनुसार दुवै जनालाई परिवारको जिम्मा लगाएर छाडेको हो। सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुने सर्तसहित रिहा गरिएको प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
हिरासतमुक्त भए पनि ओली भने केही समय अस्पतालमै रहने जनाइएको छ भने लेखकलाई पहिले महाराजगञ्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा राखिएको थियो।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसपछि प्रहरीले चैत १४ गते दुवै जनालाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतले तेस्रो पटकसम्म म्याद थपेको थियो।
चैत २३ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै थप म्याद नथप्न र अनुसन्धान सकेर आवश्यक प्रक्रिया पूरा गर्न परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार थपिएको म्याद सकिएपछि बिहीबार उनीहरूलाई हिरासतबाट मुक्त गरिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend