काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै सप्तरी जिल्लाका ७० जना स्थानीय नागरिकलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’मार्फत सप्तरीको रूपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्र परिसरमा आयोजित निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो।
उक्त स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा कुल ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकामा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको शल्यक्रिया निःशुल्क गरिएको बैंकले जनाएको छ।
शल्यक्रियापछि आवश्यक पर्ने चस्मा तथा औषधिहरू समेत सबै बिरामीलाई निःशुल्क वितरण गरिएको थियो। यस पहलमार्फत दृष्टि गुमाउने जोखिममा रहेका समुदायका नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा योगदान पुगेको बैंकको विश्वास छ।
ज्योति विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend