सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राप्रपा सकिँदैन, युवाले हस्तक्षेप गर्नुपर्छ : गोपाल पौडेल

राप्रपा सकिँदैन, युवाले हस्तक्षेप गर्नुपर्छ : गोपाल पौडेल

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीबीच केन्द्रीय सदस्य गोपाल पौडेलले पार्टी कहिल्यै नसकिने दाबी गरेका छन् । उनले केही सीमित व्यक्तिको गतिविधिका कारण पार्टी असफल देखिए पनि यसको भविष्य अझै सशक्त रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले राप्रपा सकिएको भन्दै रोइलो गर्ने र राजसंस्थाको एजेन्डा त्याग्नुपर्ने बहस चलाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले विगतमा पार्टीबाट सबैभन्दा बढी लाभ लिनेहरू नै अहिले पार्टी र राजाको एजेन्डाविरुद्ध अभियान चलाइरहेको आरोप लगाएका छन् ।

उनले लेखेका छन् कि हिजो आफूहरूले गल्ती औंल्याउँदा आलोचना गर्नेहरू नै अहिले चर्को स्वरमा विरोध गरिरहेका छन्, जसले राजनीतिक नैतिकतामाथि प्रश्न उठाएको छ । राजनीतिमा नैतिकता पूर्ण रूपमा मरेको नभए पनि राप्रपाभित्र भने त्यो कमजोर भएको उनको संकेत छ ।

पौडेलले युवाहरू अझै सक्रिय र प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीको मूल एजेन्डा परिवर्तन नहुने स्पष्ट पारेका छन् । उनले केही व्यक्ति असफल हुँदैमा वा पद नपाउँदैमा पार्टी समाप्त नहुने भन्दै गलत शैली र प्रवृत्तिविरुद्ध खुला बहस गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमा फरक धारणा राख्नेहरूमाथि आक्रामक प्रतिक्रिया जनाउने प्रवृत्ति त्याग्न आग्रह गर्दै उनले पार्टीभित्र आत्मालोचना र विचारको सम्मान आवश्यक रहेको बताएका छन् । “चिन्न कसैले कसैलाई बाँकी छैन,” भन्ने उल्लेख गर्दै उनले जिम्मेवार राजनीतिक संस्कार विकास गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टीको स्थापनाकालदेखि हालसम्म सक्रिय रहेका र नयाँ रूपमा जोडिएका युवाहरूलाई एकताबद्ध गर्दै चाँडै भेला आयोजना गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् । युवाहरूको सक्रिय हस्तक्षेपबिना पार्टी सशक्त बन्न नसक्ने उनको भनाइ छ ।

आफ्नो विद्यार्थी राजनीति अनुभव स्मरण गर्दै पौडेलले कठिन अवस्थामा पनि संगठन सम्हालिएको उल्लेख गरेका छन् । उनले वर्तमान अवस्थामा पनि युवाहरूले साहस, एकता र सक्रियताका साथ अघि बढे राप्रपा पुनः उठ्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend