सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

  प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै एमाले कार्यकर्ताको प्रदर्शन

  प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै एमाले कार्यकर्ताको प्रदर्शन

बुटवल ।  बुटवलमा राजनीतिक तापक्रम शनिबार साँझ पुनः चर्किएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोध गर्दै व्यापक प्रदर्शन गरेका छन्। मिलनचोक क्षेत्र केन्द्रित प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले वर्तमान सरकारविरुद्ध कडा नाराबाजी गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेका छन्।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘ओलीलाई रिहा गर’, ‘जनताको सम्पत्ति जोगाऊ’ जस्ता नारा लगाएका थिए। उनीहरूले हालै भएको ‘जेनजी आन्दोलन’ का क्रममा प्रहरीमाथि आक्रमण भएको र सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको घटनालाई सरकारको असक्षमता र नियोजित अराजकताको परिणामका रूपमा व्याख्या गरेका छन्। सहभागीहरूको भनाइमा, यस्तो परिस्थितिमा नेतृत्वमा रहेका व्यक्तिहरू नैतिक रूपमा जिम्मेवार हुनुपर्ने भएकाले उनीहरूको पदमा बसिरहनु उचित नभएको तर्क गरिएको छ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले आन्दोलनलाई सम्बोधन गर्दै राजनीतिक प्रतिशोधको रणनीतिमा सरकार अघि बढेको आरोप लगाए। उनले दोषीमाथि कारबाही नगरी उल्टै विपक्षी नेतामाथि गिरफ्तारी गरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए। पन्थीका अनुसार, प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन अझै सशक्त बनाइनेछ।

यस्तै, युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले अध्यक्ष ओलीको गिरफ्तारीलाई अन्यायपूर्ण र गैरकानुनी करार दिँदै तत्काल रिहा गर्न माग गरेका छन्। उनले देशभरि नै एमालेले सञ्चालन गरिरहेको विरोध कार्यक्रमको एक हिस्सा स्वरूप बुटवलमा पनि प्रदर्शन गरिएको स्पष्ट पारे।

देशव्यापी रूपमा फैलिँदै गएको विरोध कार्यक्रमले राजनीतिक ध्रुवीकरण अझ तीव्र बनाउने संकेत देखिएको छ। एकातिर सरकारमाथि उत्तरदायित्वको प्रश्न उठिरहेको छ भने अर्कोतिर विपक्षी दलले सडकमार्फत दबाब बढाउने रणनीति अपनाएको छ। यस्तो अवस्थामा संवाद र सहमतिमार्फत समाधान खोज्ने कि आन्दोलन र प्रतिआन्दोलनको चक्र अझ गहिरिँदै जाने भन्ने प्रश्न यतिबेला प्रमुख बनेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend