सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिंहदरबार आगजनीप्रति कडा प्रतिक्रिया: दोषीलाई आजीवन कारावासको माग

सिंहदरबार आगजनीप्रति कडा प्रतिक्रिया: दोषीलाई आजीवन कारावासको माग

काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौला ले पुरातात्त्विक तथा ऐतिहासिक महत्व बोकेका धरोहरमाथि आक्रमण गर्ने र त्यसलाई सामान्य रूपमा लिन खोज्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो कार्यलाई राष्ट्रविरोधी गतिविधिसमेत करार गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

अध्यक्ष निरौलाले विशेषगरी सिंहदरबार जस्तो ऐतिहासिक र प्रशासनिक महत्वको संरचनामा आगजनीजस्तो घटना हुनु गम्भीर अपराध भएको उल्लेख गरे। “पुरातात्त्विक महत्वका धरोहरहरू जलाएर फेरि बनाउन सकिन्छ भन्ने भ्रम फैलाउनेहरू देशद्रोही हुन्,” उनले भने, “यस्ता कार्यले हाम्रो इतिहास, पहिचान र राष्ट्रिय गौरवमाथि प्रहार गर्छ।”

उनले आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर कडा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। साथै, दोषी प्रमाणित हुनेहरूलाई सम्पत्ति जफतसहित आजीवन कारावासको सजाय दिनुपर्ने उनको धारणा छ। निरौलाले यस्ता घटनामा राज्यले शून्य सहनशीलता अपनाउनुपर्ने पनि बताए।

उनका अनुसार यस्ता ऐतिहासिक संरचनाहरू केवल भवन मात्र नभई राष्ट्रको इतिहास, संस्कार र पहिचानका प्रतीक हुन्। त्यसैले यिनको संरक्षण राज्य र नागरिक दुवैको दायित्व भएको उनले जोड दिए।

हाल सिंहदरबार आगजनी प्रकरणबारे सुरक्षा निकायले अनुसन्धान अघि बढाइरहेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि विशेष टोली परिचालन गरिएको जनाइएको छ। सरकारले पनि यस्ता घटनामा संलग्नमाथि कडा कारबाही गर्ने संकेत दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend