काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले पदबाट राजीनामा दिएको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेपछि नैतिक जिम्मेवारी लिँदै उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको बताइएको छ।
थापाले राजीनामा बुझाएसँगै यसबारे छलफल गर्न शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। उक्त बैठकमा राजीनामामाथि गहन छलफल हुने र आगामी रणनीति तय गरिने जनाइएको छ।
यद्यपि, केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्ने सम्भावना न्यून रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। पार्टीभित्र थापालाई नेतृत्वमै राख्नुपर्ने मत बलियो रहेको बुझिएको छ।
यसैबीच, कांग्रेसका प्रवक्ता देवराज चालिसे ले भने औपचारिक रूपमा सभापति थापाको राजीनामा प्राप्त नभएको स्पष्ट पारेका छन्। उनले राजीनामाको विषय केन्द्रीय कार्यसमिति बैठकले मात्रै टुंगो लगाउने बताएका छन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। तर, उनलाई अमरेशकुमार सिंह ले पराजित गरेका हुन्।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले झन्डै दुई तिहाइ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ भने कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ।
चुनावी नतिजापछि राजीनामा दिने तयारीमा रहेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव तथा दबाब दिँदै आएका थिए। अहिले भने उनको निर्णयले पार्टीभित्र नयाँ बहस सुरु भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend