काठमाडौँ । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोबिन्द निरौलाले वर्तमान राजनीतिक परिस्थितिमा देशलाई सही दिशामा लैजाने मुख्य जिम्मेवारी बालेन्द्र शाह र रवि लामिछाने माथि आएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश परिवर्तनको आशा अब नयाँ पुस्ताका नेतामाथि केन्द्रित भएको उल्लेख गरेका हुन्।
निरौलाले लामो समयदेखि परम्परागत राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब वैकल्पिक शक्तिहरूले परिणाम देखाउनुपर्ने बेला आएको बताएका छन्। उनले बालेन र रवि दुवैमा इमानदारी र काम गर्ने इच्छाशक्ति देखिएको उल्लेख गर्दै ती गुणलाई व्यवहारमा रूपान्तरण गर्न चुनौतीपूर्ण भए पनि सम्भव रहेको धारणा व्यक्त गरेका छन्।
उनका अनुसार, देश निर्माण केवल सरकारको मात्र जिम्मेवारी नभई नागरिकको पनि साझा दायित्व हो। “हामी नागरिकहरू सरकारबाट हुने हरेक विकृति, विसंगति र गलत निर्णयविरुद्ध निरन्तर खबरदारी गरिरहनेछौं,” उनले लेखेका छन्। यसले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको सन्देश दिने उनको भनाइ छ।
निरौलाले वर्तमान अवस्थामा राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताको खाँचो औंल्याउँदै नयाँ नेतृत्वले पुराना कमजोरी दोहोरिन नदिन विशेष ध्यान दिनुपर्ने बताएका छन्। साथै, उनले जनताको भरोसा कायम राख्न परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend