सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपाको अभिमुखीकरण सम्पन्न : परिवर्तनको नेतृत्व, परिणामको राजनीतिमा जोड

रास्वपाको अभिमुखीकरण सम्पन्न : परिवर्तनको नेतृत्व, परिणामको राजनीतिमा जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन पार्टीका सभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले ले संयुक्त रूपमा घण्टी बजाएर गर्नुभएको थियो । उद्घाटन सत्रमा उहाँहरूले जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका निर्णायक हुने धारणा राख्नुभयो ।

उपसभापति डा। वाग्लेले प्रभावकारी संसदीय अभ्यास, स्पष्ट नीतिगत दृष्टिकोण र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अर्का उपसभापति अर्यालले चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग निरन्तर सम्पर्कमा रही काम गर्न निर्देशन दिनुभयो ।

सहमहामन्त्री विपिनकुमार आर्चायको सञ्चालनमा सम्पन्न कार्यक्रममा सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने लक्ष्य लिइएको थियो । दुई दिनसम्म चलेको कार्यक्रममा नेपालको संवैधानिक व्यवस्था, सङ्घीय संसद्को संरचना र कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्डबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

पूर्व सचिवहरू तथा विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा महत्वपूर्ण सहयोग पुगेको बताइएको छ । साथै कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे विशेष प्रस्तुति पनि राखिएको थियो ।

कार्यक्रममा पुनः निर्वाचित सांसदहरूले आफ्ना अनुभव, चुनौती र सिकाइहरू प्रस्तुत गरेका थिए भने समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत् विभिन्न रणनीतिक विषयमा गहन बहस गरिएको थियो । साथै योग, ध्यान र माइण्डफुलनेस अभ्यासमार्फत मानसिक सन्तुलन र कार्यक्षमता अभिवृद्धिमा समेत ध्यान दिइएको थियो ।

समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न निर्देशन दिनुभयो । उहाँले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत प्रमाणित गर्नुपर्नेमा जोड दिँदै संसद्भित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सभापति लामिछानेले रास्वपाले आफ्नो देशको इतिहास आफैं लेख्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै यो जित पार्टीको मात्र नभई सम्पूर्ण जनताको भएको बताउनुभयो । उहाँले सामाजिक न्यायलाई केन्द्रमा राख्दै मधेस र कर्णालीको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । साथै विपक्षीप्रति अनावश्यक कटाक्ष नगर्न, विश्वविद्यालय सुधार, उद्योग सञ्चालन, रोजगारी सिर्जना लगायतका क्षेत्रमा ध्यान दिन सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले “राइट टु रिकल” कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै मन्त्री चयनमा भनसुन र पुरानो सोच त्यागेर योग्यता र क्षमताका आधारमा नेतृत्व चयन गरिने स्पष्ट पार्नुभयो ।

अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप, दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend