काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री पुर्याइएको छ। निर्वाचनको पूर्वतयारी अन्तिम चरणमा पुगेको जनाउँदै निर्वाचन आयोग ले सबै व्यवस्थापकीय कार्यतालिका स्वीकृत कार्यक्रमअनुसार अघि बढिरहेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। केही सामग्री भने सम्बन्धित जिल्लामै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतको जिम्मामा आवश्यक सम्पूर्ण सामग्री पठाइने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ।
स्वीकृत कार्यतालिकाअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही ३ फागुनदेखि सञ्चालनमा आएको छ। उक्त कार्यक्रम १७ फागुनसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जानकारी दिइएको छ। मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रयोग तथा मतदानका आधारभूत विषयबारे जानकारी दिन यो अभियान केन्द्रित रहेको आयोगको भनाइ छ।
निर्वाचन आचारसंहिता अनुगमन र परिपालनालाई पनि आयोगले प्राथमिकतामा राखेको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायत सम्बन्धित संयन्त्र सक्रिय रूपमा परिचालित भई अनुगमन कार्य गरिरहेका छन्। ४ फागुनदेखि राजनीतिक दलहरूले चुनावी प्रचारका मुख्य गतिविधि सुरु गरिसकेका छन्। प्रचारप्रसार प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिइसकेको जनाएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा, व्यवस्थापन र मतदाता शिक्षा सबै पक्षलाई प्रभावकारी रूपमा अघि बढाइएको आयोगको दाबी छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २१ फागुनमा एकै चरणमा सम्पन्न हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend