काठमाडौँ । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले वर्तमान राजनीतिक अवस्था जटिल मोडमा पुगेको दाबी गर्दै राष्ट्रिय सहमति, राष्ट्रिय एकता र राष्ट्रिय सरकार गठनको आवश्यकता औँल्याएका छन्। उनले देश शक्तिराष्ट्रहरूको प्रभाव र दबाबबीच रुमलिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा मुलुक जोगाउने आधार राष्ट्रिय एकता मात्र भएको बताएका छन्।
अध्यक्ष निरौलाले राष्ट्रिय एकताको अर्थ विघटित राजसंस्थाको पुनःस्थापना र हिन्दुराज्यको स्थापना अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। उनका अनुसार राजा, संघीयवादी राजनीतिक दल, आन्दोलनरत पक्ष र वर्तमान सरकारबीच व्यापक छलफल र सहमति नभएसम्म मुलुकमा शान्ति, स्थायित्व र विकास सम्भव नहुने दाबी गरिएको छ।
उनले राष्ट्रिय सहमति अभावमा अशान्ति चुलिँदै जाने र त्यसले देशलाई गृहयुद्धतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्। भौतिकवादी असफलताले राज्य विघटनको जोखिम बढाउने र नेपाली जनता नै शरणार्थी बन्न सक्ने खतरा रहेको उनको भनाइ छ।
निरौलाले समयमै सबै पक्षबीच बृहद् संवाद र सहमति निर्माण गर्न आग्रह गर्दै “पहिले देश बचाऔँ, देश बचे मात्र हाम्रो अस्तित्व बच्छ” भन्ने सन्देश दिएका छन्। उनले वर्तमान संकटको निकासका लागि राजसंस्था, राजनीतिक दल र आन्दोलनरत शक्तिहरू एक ठाउँमा बसेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend