सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रूपान्तरित कांग्रेसले देश रूपान्तरण गर्छ : महामन्त्री प्रदीप पौडेल

रूपान्तरित कांग्रेसले देश रूपान्तरण गर्छ : महामन्त्री प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस स्पष्ट नीति, सिद्धान्त र व्यवहारसहित देश रूपान्तरणको अभियानमा अघि बढेको बताएका छन्।

नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको पार्टी सदस्य तथा शुभेच्छुक भेटघाट कार्यक्रममा महामन्त्री पौडेलले बदलिएको कांग्रेस अब व्यवहारमै देखिने गरी अघि बढेको स्पष्ट पारे।

उनले भने, “विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको मात्र होइन, रूपान्तरण भएर आएको हो। अब यही रूपान्तरित कांग्रेसले देशको पनि रूपान्तरण गर्नेछ।” पार्टीभित्र एकता मजबुत बनाउँदै देश परिवर्तन गर्ने लक्ष्य कांग्रेसले लिएको उनको भनाइ थियो।

महामन्त्री पौडेलका अनुसार कांग्रेसले एक व्यक्ति दुई पटकसम्म मात्रै प्रधानमन्त्री हुन पाउने, सांसद र मन्त्रीका लागि समयरेखा तोक्ने, निर्वाचनअघि गठबन्धन नगर्ने जस्ता स्पष्ट नीति अघि सारेको छ। “यसपटक मतदाताले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमै ढुक्कसँग मत हाल्ने वातावरण बनेको छ,” उनले थपे।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा उठाइएका भ्रष्टाचार अन्त्य र सुशासनका मागलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाइने बताए। पार्टीले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचार अन्त्य, सुशासन, स्वदेशमै रोजगारी सिर्जना र डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

कार्यक्रममा गोरखा क्षेत्र नं १ का उम्मेदवार  प्रेम खत्रीले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए। समाजसेवीका रूपमा परिचित खत्रीले जिल्लामा १३ वटा एम्बुलेन्स वितरण, २० हजार विपन्नलाई कपडा सहयोग, भूकम्प र कोरोना पीडितलाई निरन्तर सहायता गरेको उल्लेख गर्दै अब विकास र सेवाको राजनीतिमा लाग्ने बताए।

गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जीत अपरिहार्य भएको बताए। पछिल्लो १५ वर्षदेखि निरन्तर समाजसेवामा सक्रिय दवाडीले समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाएर जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्ले, कमला पन्त, अब्दुल सत्तार, किरणबाबु श्रेष्ठ तथा कांग्रेस गोरखा जिल्ला सभापति एवं प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेले पनि मन्तव्य राख्दै गोरखामा कांग्रेसको जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend