काठमाडौं । बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरे ले व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा विचार व्यक्त गर्दै उनले कुनै व्यक्तिले आफूलाई ‘अवतार’का रूपमा प्रस्तुत गर्दैमा मुलुकका समस्या समाधान नहुने स्पष्ट पारेका हुन्।
उनले ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै बीपी कोइराला को राजनीतिक आचरणलाई स्मरण गरेका छन्। उनका अनुसार यदि व्यक्तिले अवतार लिँदैमा समस्या छुमन्तर हुने भए बीपी कोइरालाले संगठन निर्माण र पार्टी सुदृढीकरणका लागि दुःख गर्नुपर्ने अवस्था आउने थिएन। उनले संस्थागत लोकतन्त्रको अभ्यासलाई प्राथमिकता दिएका कारण नै नेपाली कांग्रेस सशक्त राजनीतिक शक्तिका रूपमा उभिएको घिमिरेको तर्क छ।
घिमिरेले २०१५ सालको आम निर्वाचनको प्रसंग उल्लेख गर्दै त्यसबेला बीपी कोइरालासँग आफूलाई भावी प्रधानमन्त्री घोषणा गर्ने हैसियत हुँदाहुँदै पनि त्यसो नगरेको बताएका छन्। पार्टी सभापति स्वयं भए पनि उनले व्यक्तिगत घोषणा नगरी संस्थागत निर्णयमार्फत निर्वाचनमा होमिएको उदाहरण प्रस्तुत गरिएको छ।
उक्त निर्वाचनमा नेपाली कांग्रेस ले दुई तिहाइ बहुमत हासिल गरेको थियो। घिमिरेका अनुसार त्यो सफलता व्यक्तिको करिश्माभन्दा पनि संस्थागत अभ्यास र पार्टीप्रति जनविश्वासको परिणाम थियो।
उनले वर्तमान राजनीतिक परिवेशमा बढ्दो व्यक्तिपूजाको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रलाई बलियो बनाउन संस्थालाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। लोकतन्त्रमा व्यक्ति होइन, विधि र संस्था सर्वोपरि हुने उनको निष्कर्ष छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend