सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

घृणा, लोकप्रियता र उत्तेजनाबाट देशलाई जोगाउन विवेकपूर्ण राजनीति आवश्यक : अध्यक्ष ढकाल

घृणा, लोकप्रियता र उत्तेजनाबाट देशलाई जोगाउन विवेकपूर्ण राजनीति आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । पेशागत महासंघ नेपालका अध्यक्ष पून्य प्रसाद ढकालले घृणा, आवेग र सामाजिक सञ्जालको हल्लाका भरमा बढ्दै गएको राजनीति दीर्घकालमा देशका लागि घातक हुन सक्ने चेतावनी दिएका छन्। उनले समयमै सचेत नहुने हो भने लोकप्रियता र उत्तेजनाबाट निर्देशित राजनीति मुलुकको भविष्यका लागि खतरनाक बन्ने उल्लेख गरे।

अध्यक्ष ढकालले पुराना राजनीतिक दलहरूले विगतमा अपेक्षित काम गर्न नसक्दा जनतामा निराशा बढ्नु स्वाभाविक भएको बताए। तर निराशाको विकल्प विवेकहीन र दिशाहीन राजनीति बन्नु नहुने उनको जोड थियो। “निराशा हुनु स्वाभाविक हो, तर त्यसको समाधान आवेगमा आधारित विकल्प होइन,” उनले भने।

उनका अनुसार पछिल्लो समय कुनै स्पष्ट विचार, नीति, दीर्घकालीन लक्ष्य र सिद्धान्त नबोकेका दलहरू रातारात उदाउने प्रवृत्ति देखिएको छ। यस्ता शक्तिहरू न इतिहास बोकेका छन्, न त्याग र बलिदानको पृष्ठभूमि, न त कुनै सुदृढ वैचारिक जग नै। केवल आक्रोश, असन्तोष र सामाजिक सञ्जालमा फैलिने हल्लाका आधारमा राजनीति गर्न खोज्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए।

अध्यक्ष ढकालले जनतालाई आवेगभन्दा विवेक, लोकप्रियताभन्दा नीति र उत्तेजनाभन्दा जिम्मेवार विकल्प रोज्न आग्रह गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन दीर्घकालीन सोच, स्पष्ट कार्यक्रम र उत्तरदायी नेतृत्व अनिवार्य रहेको धारणा राखे। “देश जोगाउने हो भने समय छँदै सोच्नुपर्छ,” उनले स्पष्ट पारे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend