गोरखा । अजिरकोट गाउँपालिका वडा नं ४ सिमजुङ (झ्यावाँ) निवासी प्रकाशचन्द्र दवाडी आज गोरखाको राजनीतिमा केवल परिचित नाम मात्र होइनन्, भरोसाको प्रतीक बनेका छन्। गोरखा क्षेत्र नं २ को भूगोल, समाज र जनताको पीडा–आकांक्षा नजिकबाट बुझेका दवाडी मतदातामाझ अनुभवी, पहुँचवाला र काम गरेर देखाएका उम्मेदवारका रूपमा स्थापित छन्।
व्यवसायबाट समाजसेवा हुँदै राजनीतिमा उदाएका दवाडी गण्डकी प्रदेशका पूर्व सांसद हुन्। राजनीतिलाई पद र सुविधा होइन, सेवाको माध्यम बनाउने उनको शैलीले उनलाई अरूभन्दा फरक बनाएको छ। प्रदेश सांसद हुँदा पाउने तलब, भत्ता र सेवा–सुविधासमेत आफ्नै क्षेत्रको सामाजिक काममा खर्च गर्दै आएका दवाडीले राजनीतिमा नैतिकता र जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
दवाडीको राजनीतिक यात्राको केन्द्रमा सधैं जनता रहे। गोरखा क्षेत्र नं २ का आमा समूह, युवा क्लब, विद्यार्थीका लागि छात्रवृत्ति, गरिब तथा विपन्न नागरिकको उपचार र जीविकोपार्जन सहयोगजस्ता काममा उनी निरन्तर सक्रिय रहे। चुनावी मौसममा मात्र देखिने नेता होइन, दुःख–सुखमा सधैं सँगै रहने प्रतिनिधिका रूपमा दवाडीलाई जनताले चिन्छन्।
गण्डकी प्रदेशमा बलियो पहुँच बनाएका दवाडीले गोरखा क्षेत्र नं २ मा मोटरबाटो निर्माण, सिंचाइ आयोजना, पर्यटन प्रवर्द्धन, कृषि विकासजस्ता क्षेत्रमा सयौं योजना भित्र्याउन सफल भए। दुर्गम बस्तीलाई सडकसँग जोड्ने कामदेखि किसानको खेतसम्म पानी पुर्याउने योजनासम्म, रोजगारी सिर्जना गर्ने पर्यटन पूर्वाधारदेखि उत्पादनमुखी कृषिसम्म उनका प्राथमिकता सधैं विकास र समृद्धि नै रहे।
यही योगदान र विकासप्रेमी छविको कदर गर्दै नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रकाशचन्द्र दवाडीलाई गोरखा–२ को बलियो उम्मेदवारका रूपमा अघि सारेको छ। भूगोल चिनेका, जनताको विश्वास जितेका र काम गरेर देखाएका उम्मेदवारका रूपमा दवाडी आज गोरखा–२ मा आशाको नाम बनेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend