सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामाजिक सञ्जालको अराजकता चुनावी लोकतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष ढकाल

सामाजिक सञ्जालको अराजकता चुनावी लोकतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष ढकाल

  काठमाडौं । प्रचारको सहज र प्रभावकारी माध्यम बनेको सामाजिक सञ्जाल पछिल्लो समय अफवाह, घृणा र हिंसालाई उक्साउने सामग्रीको अखडा बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। पेशागत महासंघ नेपालका अध्यक्ष पून्य प्रसाद ढकालले सामाजिक सञ्जालमा फैलिँदै गएको तथ्यहीन सूचना, सम्पादित भिडियो र उत्तेजक भाष्यले समाजलाई विभाजित मात्र होइन, अस्थिरतातर्फ धकेल्ने जोखिम बोकेको बताएका छन्।

खबरब्रेकिंगसँगको कुराकानीमा अध्यक्ष ढकालले भने, “सामाजिक सञ्जाल नियन्त्रणबाहिर गयो भने यसको प्रत्यक्ष असर मतदान प्रक्रियामै मात्र होइन, निर्वाचनपछिको अवस्थासम्म पुग्ने खतरा छ। गलत सूचना र योजनाबद्ध दुष्प्रचारले मतदाताको धारणा प्रभावित पार्ने, अविश्वास र तनाव सिर्जना गर्ने सम्भावना बढ्दै गएको छ।”

उनका अनुसार पछिल्लो समय चुनाव लक्षित भ्रामक सामग्री योजनाबद्ध रूपमा फैलाउने प्रवृत्ति बढेको छ। “एउटै भिडियो काटछाँट गरेर अर्कै सन्देश दिनु, तथ्य प्रमाणबिना आरोप लगाउनु र भावनात्मक उत्तेजना फैलाउने भाष्य प्रयोग गर्नु लोकतान्त्रिक अभ्यासका लागि घातक हो,” ढकालले चेतावनी दिए।

ढकालले दलभित्रकै विद्रोह, असन्तुष्टि र आन्तरिक कलहले पनि अवस्था झनै संवेदनशील बनाएको बताए। “आन्तरिक असहमति सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदा त्यसले संस्थागत राजनीतिमाथि नै प्रश्न उठाइरहेको छ। यसले चुनावी वातावरणलाई थप अस्थिर बनाउने काम गरिरहेको छ,” उनले भने।

उनले जिम्मेवार अभिव्यक्ति, तथ्यमा आधारित प्रचार र सामाजिक सञ्जालको मर्यादित प्रयोग आजको अपरिहार्य आवश्यकता भएको जोड दिए। “लोकतन्त्र बलियो बनाउन राजनीतिक दल, राज्य संयन्त्र, सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आ–आफ्नो जिम्मेवारी बुझ्नुपर्छ,” ढकालको भनाइ छ।

आगामी निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउन सामाजिक सञ्जालमा फैलिने अफवाह र घृणात्मक सामग्रीमाथि समयमै निगरानी र सचेतना आवश्यक रहेको उनले उल्लेख गरे। “चुनाव जित्ने नाममा समाजलाई विभाजित गर्ने खेल बन्द हुनुपर्छ,” ढकालले स्पष्ट पारे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend