ललितपुर । राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायतका निकायको सहयोगमा मिति २०८२ साल माघ १३ र १४ गते ललितपुरमा दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ सम्पन्न भएको छ।
देशभरबाट सहभागी युवा सहकारीकर्मी, प्रविधि विज्ञ, नीति निर्माता, सरकारी, निजी, गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाबीच भएको घनीभूत छलफलपछि सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने उद्देश्यसहित सम्मेलनले विभिन्न निस्कर्ष र संकल्प सार्वजनिक गरेको छ।
सम्मेलनले सहकारी क्षेत्रको रूपान्तरणका लागि युवा नेतृत्व र प्रविधिको समन्वय अनिवार्य आवश्यकता रहेको ठहर गर्दै युवालाई सहकारी संघ–संस्थाको नीति निर्माण तथा निर्णय तहमा पुर्याउन संस्थागत नीतिमा सुधार गरी कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ। सहकारीलाई पारदर्शी, दिगो र सदस्यमैत्री बनाउन डिजिटल भुक्तानी प्रणाली, डेटा व्यवस्थापन, फिनटेक र एग्रिटेक जस्ता आधुनिक प्रविधिको पूर्ण अवलम्बन गर्दै प्लेटफर्म आधारित सेवा प्रवाहका लागि पूर्वाधार, दक्ष जनशक्ति र नीतिगत सुधारमा जोड दिइएको छ।

युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माणका लागि सरकार, नियामक निकाय र सहकारी अभियानबीच प्रभावकारी समन्वय तथा नियमन सरलीकरण आवश्यक रहेको सम्मेलनको ठहर छ।
युवालाई प्रविधि र उद्यमशीलतामा दक्ष बनाउन सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँगको सहकार्यमा तालिम, मेन्टरशिप, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना तथा विस्तार गर्न माग गरिएको छ। साथै, केन्द्रीय तहमा अन्तर्राष्ट्रियस्तर र प्रदेश तहमा राष्ट्रियस्तरका प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको छ।
सहकारीमार्फत देशभर युवा स्वरोजगार सिर्जना गर्ने र स्टार्टअप व्यवसायतर्फ युवाको आकर्षण बढाउन सहकारी संघ–संस्थाले वित्तीय लगानी, प्राविधिक शिक्षा र व्यावसायिक सहयोग प्रणाली उपलब्ध गराउने ठोस संयन्त्र र नीति निर्माण गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ। उदाहरणीय कार्य गर्ने युवा उद्यमीलाई प्रोत्साहन गर्दै उत्पादनको बजारीकरणका लागि सहकारी नेटवर्कमार्फत एकीकृत ब्रान्डिङ र साझा बजार केन्द्र निर्माण गर्ने विषय पनि संकल्पमा समेटिएको छ।
दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ का संयोजक सुमन नेपालले सम्मेलनबाट सहकारी क्षेत्रको भविष्य युवामुखी र प्रविधिमा आधारित बनाउने स्पष्ट दिशानिर्देश तय भएको जानकारी दिनुभयो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend