बारा । आज बिहान बारामा एकै परिवारमाथि साङ्घातिक आक्रमण भएको छ । यति बेला बारामा स्थानीय क्षेत्र शोकमा डुबेको छ । परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीह गाउँमा अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
बिहान करिब ३ बजेतिर घटना भएको बताइएको छ। स्थानीय जगरुप महतो धानुकको परिवारलाई लक्षित गर्दै आक्रमणकारीहरूले घरभित्रै आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा डीएसपी विजयराज पण्डितका अनुसार आक्रमणमा ५२ वर्षीया एक महिला र उहाँका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै ज्यान गएको हो । घाइते भएका परिवारका अन्य तीन सदस्यको एलएस न्यूरो लगायतका अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ भने संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रवक्ता पण्डितले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेकाले थप विवरण आउन बाँकी रहेको र दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने बारा प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend