सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पेसागत महासंघ नेपालद्वारा निर्वाचन परिचालनसम्बन्धी निर्णय कार्यान्वयनका लागि निर्देशन

पेसागत महासंघ नेपालद्वारा निर्वाचन परिचालनसम्बन्धी निर्णय कार्यान्वयनका लागि निर्देशन

काठमाडौं । पेसागत महासंघ नेपालले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै संगठनात्मक परिचालन, प्रचारप्रसार तथा अनुगमनसम्बन्धी महत्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ।

मिति २०८२ माघ ९ गते महासंघका अध्यक्ष क. पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको राष्ट्रिय समितिको ३०औँ सचिवालय बैठकले विभिन्न पाँच बुँदे निर्णय गर्दै ती निर्णयहरू यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेको हो।

बैठकले नेकपा (एमाले) राजधानी प्रदेश कमिटीद्वारा माघ १० गते आयोजना हुने प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा सबै पेसाकर्मीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश कमिटीले तोकेको स्थान र समयमा अनिवार्य उपस्थित हुन निर्देशन गर्ने निर्णय गरेको छ।

यसैगरी पेसागत महासंघ नेपालसँग आबद्ध पेसाकर्मीहरूलाई उपत्यकाभित्र बसोबास रहेको तथा पायक पर्ने निर्वाचन क्षेत्रमा पार्टीको प्रचारप्रसारमा सक्रिय सहभागी हुन तीन दिनभित्र आफ्नो नाम, संस्थागत पद, मोबाइल नम्बर र जिल्ला तथा निर्वाचन क्षेत्र खुलाएर विवरण पठाउन अनुरोध गरिएको छ। उक्त विवरण घटक संस्थाहरूले आफ्ना मातहतका उपत्यकामा रहेका सदस्यहरूको संकलन गरी महासंघलाई सम्बन्धित इन्चार्जमार्फत उपलब्ध गराउने निर्णय गरिएको छ। साथै महासंघका पदाधिकारी तथा सदस्यहरूले पनि व्यक्तिगत रूपमा विवरण बुझाउनुपर्ने उल्लेख गरिएको छ।

बैठकले नेकपा (एमाले) को घोषणापत्रमा समावेश गर्न पेसागत क्षेत्रबाट दिनुपर्ने सुझावहरू संकलन तथा तयारीको जिम्मेवारी महासचिव र उपमहासचिवलाई दिएको छ। यसका लागि घटक संस्थाहरूबाट सुझाव लिने निर्णयसमेत गरिएको छ।

निर्वाचन प्रचारप्रसार तथा अनुगमनका लागि महासंघका महासचिव केदार प्रसाद देवकोटाको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचारप्रसार, परिचालन तथा अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिको सचिवमा कार्यालय सचिव नारायण बहादुर थापा र कोषाध्यक्षमा श्याम प्रसाद पाण्डे रहनेछन्। समितिमा महासंघका उपमहासचिव, सचिव, केन्द्रीय कार्यालय सचिव, आयोगका अध्यक्ष, स्थायी समिति सदस्य, राष्ट्रिय समिति सदस्य, प्रदेश समिति अध्यक्ष तथा पदाधिकारी, राष्ट्रिय घटक संघका अध्यक्ष तथा पदाधिकारी, प्रतिष्ठानस्तरका संघसंगठनका अध्यक्ष–महासचिव तथा जिल्लास्तरीय अध्यक्षहरू सदस्य रहनेछन्।

बैठकले मानवीय पक्षलाई समेत ध्यान दिँदै स्थायी समिति सदस्य कमल अर्यालकी धर्मपत्नी क्यान्सर रोगको उपचाररत रहेको र स्थायी समिति सदस्य वैकुण्ठ गुरागाईंको निवासमा आन्दोलनका क्रममा आगलागी भई उनी स्वयं घाइते भएको अवस्थालाई मध्यनजर गर्दै दुवै जनालाई जनही २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

महासंघले सातै प्रदेश कमिटी, ७७ वटै जिल्ला कमिटी तथा सबै राष्ट्रिय घटक संघ–संगठनलाई आ–आफ्नो क्षेत्र र मातहतका कमिटीमार्फत यी निर्णयहरू शीघ्र कार्यान्वयन गरी महासंघमा जानकारी गराउन आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend