काठमाडौँ । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा युवा सामाजिक अभियान्ता प्रकाश कुँवर चुनावी मैदानमा उत्रिएका छन्। उनले आफ्नो चुनाव चिन्ह ‘आँप’ रहेको उल्लेख गर्दै यसपटकको निर्वाचनमा जनताको विश्वास जितेर संसदमा पुग्ने लक्ष्य लिएको बताएका छन्।
खबरब्रेकिंगसँगको कुराकानीमा कुँवरले आफू लामो समयदेखि सामाजिक अभियानमा सक्रिय रहँदै आएको र यही अनुभवलाई संसदमार्फत नीतिगत परिवर्तनमा रूपान्तरण गर्ने चाहना रहेको बताए। “म राजनीति गर्न होइन, समस्या समाधान गर्न चुनावमा आएको हुँ,” उनले भने, “संसदमा पुगेर काठमाडौं–७ का साथै समग्र जनताको वास्तविक आवाज मजबुत रूपमा उठाउने मेरो संकल्प छ।”
उनका अनुसार काठमाडौं क्षेत्र नम्बर ७ लाई योजनाबद्ध विकास, पारदर्शी सेवा प्रवाह र नागरिकमैत्री शासनको नमुना क्षेत्र बनाउने स्पष्ट भिजन आफूले बोकेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, युवा उद्यमशीलता, वातावरण संरक्षण र सुशासन उनका प्रमुख प्राथमिकतामा रहेका छन्।
विशेष गरी जेन्जी पुस्ताका माग, भावना र सोच बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुँवरले भने, “आजको युवा पुस्ता भाषण होइन, परिणाम चाहन्छ। अवसर, न्याय र भविष्यप्रतिको आशा खोजिरहेको छ। म त्यो पुस्ताको प्रतिनिधि बनेर काम गर्नेछु।”
पार्टीगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा निष्पक्ष रूपमा आवाज उठाउन स्वतन्त्र उम्मेदवारी महत्वपूर्ण भएको उनको तर्क छ। “स्वतन्त्र उम्मेदवार हुनु भनेको कुनै दबाब बिना जनताको पक्षमा बोल्न सक्ने स्वतन्त्रता हो,” उनले भने।
कुँवरले काठमाडौं–७ का सम्पूर्ण मतदातालाई चुनाव चिन्ह ‘आँप’मा मतदान गरी आफूलाई एकपटक मौका दिन आग्रह गरे। “यो चुनाव व्यक्ति होइन, सोच र भविष्यको हो,” उनले भने, “माथि होइन, जनतासँगै उभिने प्रतिनिधि चाहनुहुन्छ भने मलाई समर्थन गर्नुस्।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend