काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौँ महानगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूसँग नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार प्रबल थापाको भेटघाट सम्पन्न भएको छ। भेटघाट अत्यन्त फलदायी रहेको बताउँदै थापाले स्थानीय तहका विद्यमान समस्या, आवश्यक समन्वय तथा भावी सहकार्यका विषयमा गहिरो र खुला छलफल भएको जानकारी दिए।
भेटका क्रममा स्थानीय विकास, सेवा प्रवाह, पूर्वाधार, शहरी व्यवस्थापन तथा नागरिकसँग प्रत्यक्ष जोडिएका विविध विषयहरूमा सुझाव आदान–प्रदान भएको थियो। स्थानीय जनप्रतिनिधिहरूले क्षेत्रका वास्तविक समस्या, जनअपेक्षा र सम्भावनाबारे स्पष्ट धारणा राखेका थिए भने थापाले ती विषयलाई केन्द्र सरकारको तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता जनाए।

छलफलपछि प्रतिक्रिया दिँदै थापाले सुझावपूर्ण, प्रतिबद्ध र उत्साहजनक संवादका लागि सम्पूर्ण जनप्रतिनिधिप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले भने, “स्थानीय तह र केन्द्रबीचको समन्वय बलियो भए मात्रै विकासले गति लिन्छ। आजको भेटघाटले त्यो विश्वास थप मजबुत बनाएको छ।”
“केन्द्रमा प्रभाव, क्षेत्रमा विकास” भन्ने मूल अभिभारालाई आत्मसात् गर्दै आगामी दिनहरूमा पनि निरन्तर संवाद, समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने थापाको भनाइ छ। उनले स्थानीय जनप्रतिनिधिसँगको सहकार्यलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।
नेपाली काँग्रेसका उम्मेदवार प्रबल थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने र स्थानीय आवश्यकताअनुसार नीति निर्माणमा भूमिका खेल्ने लक्ष्यसहित चुनावी अभियान अघि बढाइरहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend