सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रथ चिन्हमा मतदान गर्न विष्णु तिवारीको आह्वान

रथ चिन्हमा मतदान गर्न विष्णु तिवारीको आह्वान

काठमाडौँ । यही फागुन २१ गते हुन गइरहेको संघीय निर्वाचनलाई लक्षित गर्दै प्रजातान्त्रिक पार्टी नेपालले देशभरका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ। खबरब्रेकिंगसँगको कुराकानीमा प्रजातान्त्रिक पार्टी नेपालका कोषाध्यक्ष विष्णु तिवारी (आरडी)ले निर्वाचन चिन्ह ‘रथ’मा मतदान गरी लोकतान्त्रिक मूल्य, सुशासन र जवाफदेहिताको पक्षमा उभिन मतदातासँग अनुरोध गरे।

उनले पछिल्ला निर्वाचनहरू अत्यधिक खर्चिलो र भडकिलो बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिलाई तत्काल रोक्नुपर्ने बताए। “चुनाव प्रतिस्पर्धा हुनुपर्छ, तर पैसाको होड होइन,” तिवारीले भने, “अनावश्यक खर्च, देखावटी प्रचार र शक्ति प्रदर्शनले लोकतन्त्रलाई कमजोर बनाउँछ। यसलाई नियन्त्रण गर्न राजनीतिक दल र उम्मेदवार सबै जिम्मेवार हुनुपर्छ।”

तिवारीका अनुसार यसपटकको निर्वाचनले पुरानो शैलीको राजनीति तोड्दै नयाँ सोच र दृष्टिकोण बोकेको युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ। “सबै पार्टीबाट युवा पुस्ताले जितेर आउनु आजको आवश्यकता हो,” उनले भने, “देशले नयाँ ऊर्जा, नयाँ विचार र नयाँ इमानदारी खोजिरहेको छ।”

चुनावी खर्च पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै उनले दाताबाट प्राप्त रकम, त्यसको स्रोत र खर्चको विवरण उम्मेदवार र दलहरूले सार्वजनिक गर्नुपर्ने बताए। “राजनीतिमा पारदर्शिता बिना विश्वास कायम हुँदैन,” तिवारीले भने, “जनताले थाहा पाउनुपर्छ—कसले कति सहयोग गर्‍यो र त्यो पैसा कहाँ खर्च भयो।”

उनले साना–ठूला जुनसुकै दलका उम्मेदवार भए पनि देश र जनताको पक्षमा काम गर्ने पात्र संसदमा पुग्नुपर्ने धारणा राखे। “पार्टीको आकार होइन, सोच र प्रतिबद्धता महत्त्वपूर्ण हो,” उनले भने, “सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध कठोर कारबाही गर्ने स्पष्ट दृष्टिकोण भएका उम्मेदवारहरूले जित्नुपर्छ।”

जेन्जी (Gen Z) पुस्ताका माग, भावना र मर्म बुझेर अघि बढ्नु आजको राजनीतिक चुनौती भएको उनको भनाइ छ। “युवा पुस्ता केवल नारामा होइन, व्यवहारमा परिवर्तन चाहन्छ,” तिवारीले भने, “रोजगारी, शिक्षा, प्रविधि, वातावरण र अवसरका सवालमा स्पष्ट नीति लिएर जान सक्ने नेतृत्व आवश्यक छ।”

निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै उनले राज्यका निकाय र निर्वाचन प्रशासनलाई कडा निगरानी र निष्पक्ष भूमिकाको अपेक्षा गरे। “निर्वाचनको विश्वसनीयता नै लोकतन्त्रको आधार हो,” उनले भने, “कुनै पनि किसिमको धाँधली, दबाब वा प्रभाव स्वीकार्य हुँदैन।”

उनले पटक–पटक अवसर पाएका, जनअपेक्षामा असफल र परिवर्तनका बाधक बनेका पुराना नेताहरूलाई यसपटक संसदमा पुग्न नदिन मतदाताले सचेत निर्णय गर्नुपर्ने पनि बताए। “अब देशलाई घुमाइफिराइ उही अनुहार होइन, परिणाम दिने नेतृत्व चाहिएको छ,” तिवारीले भने।

प्रजातान्त्रिक पार्टी नेपालले विचार, इमानदारी र जनमुखी कार्यक्रमका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै तिवारीले मतदातालाई परिवर्तनको पक्षमा उभिन आह्वान गरे। “रथ चिन्हमा मतदान गर्नु भनेको पारदर्शिता, सुशासन र युवामैत्री राजनीतिमा लगानी गर्नु हो,” उनले जोड दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend