काठमाडौँ । २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र—जेइओसी—स्थापना गरिएको छ।
निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ अनुसार स्थापना गरिएको केन्द्रको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले औपचारिक रूपमा उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा आयोगका आयुक्त सगुन शम्शेर ज.व.रा, सचिव कृष्णबहादुर राउतसहित सरोकारवाला पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहने छ।
केन्द्रले मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला र प्रदेश निर्वाचन कार्यालयबाट सञ्चालित सम्पूर्ण निर्वाचन गतिविधिको जानकारी संकलन गर्नेछ। प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार गरी सचिवालयमार्फत निर्वाचन आयोगमा पेश गर्नु केन्द्रको प्रमुख जिम्मेवारी रहेको छ।
यसैगरी, प्रदेशका सुरक्षा निकायसँग समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको मूल्याङ्कन र विश्लेषण गर्ने, निर्वाचन कार्यक्रमसँग सम्बन्धित सूचना प्रवक्तामार्फत सार्वजनिक गर्ने तथा विभिन्न निकायबाट आएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने कार्य पनि केन्द्रले गर्नेछ।
निर्वाचन सुरक्षा तथा सम्भावित घटना–परिघटनाको संकलन र विश्लेषण गर्दै रोकथाम तथा समाधानका लागि आयोग र सम्बन्धित निकायलाई सुझाव पेश गर्ने जिम्मेवारी पनि संयुक्त निर्वाचन सञ्चालन केन्द्रको रहेको आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend