मोरङ। नेपाली काँग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई अत्यधिक मत दिएर विजयी गराउन मतदाताहरूसँग आग्रह गरेका छन्।
मोरङ–३ का जनताले यसअघि पनि आफूलाई तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै डा. शर्माले आगामी निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
उनले सबैभन्दा बढी मत पाएर निर्वाचित भए संसदमा आफ्नो आवाज अझ बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा समेत महत्वका साथ हेरिने दाबी गरे।
नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै डा. शर्माले अहिलेको अवस्थालाई एक किसिमको ‘कोरोना भाइरस’ सँग तुलना गर्दै यस्तो समयमा पनि अत्यधिक मतका साथ विजयी हुनुको विशेष अर्थ रहने बताए।
उनका अनुसार करिब ७० हजार मत ल्याएर निर्वाचित हुने सांसदले उठाउने विषयवस्तुले नीति निर्माण प्रक्रियामा जनताको आवाज प्रभावकारी रूपमा स्थापित गर्न सहजता ल्याउनेछ। डा. शर्माले जनताको विश्वास र समर्थनकै आधारमा आफू फेरि पनि बलियो जनमतसहित संसद पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend