तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचन प्रहरीका लागि जनशक्ति अभाव भएको जनाउँदै पुनः दरखास्त आह्वान गरेको छ। निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको निवेदन माग गरिएकोमा तनहुँमा एक हजार ४३३ जनाको मात्र निवेदन परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणपछि एक हजार २३६ जना उत्तीर्ण भएका थिए। तीमध्ये लिखित परीक्षा सञ्चालन गर्दा एक हजार २१६ जना उत्तीर्ण भएका छन्।
आवश्यक जनशक्ति नपुगेपछि कार्यालयले पुनः सूचना जारी गर्दै निर्वाचन प्रहरीको थप दरखास्त माग गरेको हो। यसअघि पुस २५ गतेदेखि माघ ३ गतेसम्म दरखास्त संकलन गरिएकोमा पुनः आजसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्रनाउ विकका अनुसार जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बेलचौतारा, इलाका प्रहरी कार्यालय भानु तथा इलाका प्रहरी कार्यालय बन्दीपुरमा आवेदन दिन सकिनेछ।
पुनः आवेदन खुला गरिएपछि शनिबार मात्रै एक सय ९२ जनाले दरखास्त दिएका छन्। तीमध्ये ६७ जना महिला र एक सय २५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend