काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी पश्चिम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा देवेन्द्रराज कँडेल नै पार्टीका आधिकारिक उम्मेदवार भएको स्पष्ट पारेको छ। पार्टी सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्राचार गर्दै कँडेललाई आधिकारिक उम्मेदवारका रूपमा जानकारी गराएका हुन्।
यसअघि निर्वाचन आयोगले बिहीबार भीमबहादुर थापाको उम्मेदवारी कायम रहेको जानकारी दिएको थियो। दुवै जनाले कांग्रेसको टिकट लिएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिकताबारे विवाद उत्पन्न भएको थियो।
थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए। उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थक यमलाल भुसाल थिए। निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो। कँडेलले भने केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए।
दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिन अध्ययन गरी बिहीबार थापालाई आधिकारिकता दिएका थिए। तर पार्टी सभापतिको पत्रपछि कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा कँडेललाई मान्यता दिइएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend