सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्वाचनमा राष्ट्रिय झण्डा प्रयोग गर्नु गैरकानुनी र अनैतिक : अर्जुननरसिंह केसी

निर्वाचनमा राष्ट्रिय झण्डा प्रयोग गर्नु गैरकानुनी र अनैतिक : अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले निर्वाचनका क्रममा उम्मेदवार वा राजनीतिक दलले नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्नु पूर्णतः अनुचित, गैरकानुनी र अनैतिक भएको टिप्पणी गर्नुभएको छ। उहाँले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको धारणा अनुसार राष्ट्रिय झण्डा कुनै एक दल, उम्मेदवार वा समूहको सम्पत्ति नभई देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र सम्पूर्ण नेपाली जनताको साझा सम्मान तथा पहिचानको प्रतीक हो।

केसीले दलीय प्रतिस्पर्धा, दलीय आमसभा वा आम निर्वाचनमा उम्मेदवारले राष्ट्रिय झण्डा प्रदर्शन गर्नु राष्ट्रिय प्रतीकको दुरुपयोग मात्र नभई त्यसको गरिमामाथिको गम्भीर अपमानसमेत हुने स्पष्ट गर्नुभएको छ। उहाँका अनुसार निर्वाचनका बेला राष्ट्रिय झण्डा प्रयोग गर्नु मतदाताको राष्ट्रिय भावना उक्साएर अनुचित राजनीतिक लाभ लिन खोजिएको संकेतका रूपमा बुझिन सक्छ, जसले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियामाथि प्रश्न खडा गर्छ।

उहाँले राष्ट्रिय झण्डा राजनीतिक विवादमा तानिँदा त्यसको गरिमा घट्ने, अनावश्यक विवाद सिर्जना हुने र दुरुपयोग बढ्ने जोखिम रहनेतर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ। “राजनीति अस्थायी हुन सक्छ, तर राष्ट्रिय प्रतीक स्थायी हुन्छन्,” भन्दै केसीले राष्ट्रिय झण्डालाई दलगत स्वार्थ र चुनावी प्रतिस्पर्धाभन्दा माथि राखिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

केसीका अनुसार स्वच्छ निर्वाचन सुनिश्चित गर्न उम्मेदवार र राजनीतिक दलहरूले आफ्ना दलका झण्डा, चुनाव चिह्न र प्रचार सामग्री मात्र प्रयोग गर्नुपर्छ। राष्ट्रिय झण्डा राज्य र सम्पूर्ण नागरिकको साझा पहिचान भएकाले यसलाई चुनावी प्रचारको साधन बनाउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत रहेको उहाँको निष्कर्ष छ।

उहाँले भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका जस्ता सार्क राष्ट्रहरू मात्र होइन, विश्वका अधिकांश लोकतान्त्रिक मुलुकहरूमा पनि राष्ट्रिय झण्डालाई दलगत राजनीति र चुनावी प्रचारबाट अलग राख्ने नीति अपनाइएको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ। यस्तो अभ्यासले निर्वाचन प्रक्रियाको निष्पक्षता, तटस्थता र विश्वसनीयता जोगाउन मद्दत पुर्‍याउने अन्तर्राष्ट्रिय मान्यता रहेको उहाँको भनाइ छ।

यसै सन्दर्भमा केसीले हाल निर्वाचनका क्रममा देखिन थालेका यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै निर्वाचन आयोगलाई तत्काल हस्तक्षेप गर्न आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रिय झण्डाको दुरुपयोग हुने गरी भइरहेका सबै गतिविधिमा तुरुन्त निषेधाज्ञा जारी गरी कडाइका साथ बन्द गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

केसीको यो अभिव्यक्तिलाई निर्वाचनको मर्यादा, राष्ट्रिय प्रतीकको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका पक्षमा उठाइएको महत्वपूर्ण आवाजका रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend