काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। थापाको नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको हो।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको यो पहिलो बैठक पार्टीको आफ्नै केन्द्रीय कार्यालयमा हुन लागेको हो।
यसअघि नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक माघ १ गते कुपण्डोलस्थित म्यासेममा बसेको थियो भने निर्वाचन आयोगबाट माघ २ गते आधिकारिक मान्यता पाएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरको अर्पण बैंक्वेटमा सम्पन्न भएको थियो।
अब तेस्रो बैठकका रूपमा शुक्रबार सानेपामा बस्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यसमितिका सचिव केशव दुलालका अनुसार बैठकका लागि पदाधिकारीका कार्यकक्ष तयारी र कार्यालय सरसफाइको काम तीव्र रूपमा भइरहेको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले घोषणापत्र लेखन, चुनावी परिचालन तथा संगठनात्मक रणनीतिबारे महत्वपूर्ण निर्णय गर्नेछ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे विस्तृत छलफल हुने बताइएको छ। सभापति थापाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको र आफू स्वयं सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेको जानकारी पनि पार्टीले दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend