सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीका सय दिन, अबसर, चुनौति र उपलब्धि

प्रधानमन्त्रीका सय दिन, अबसर, चुनौति र उपलब्धि

डा डिआर उपाध्याय

खबरब्रकिंग, काठमाडौं चैत्र २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको एक सय दिन पुगेको छ । यो सय दिनको अबधी भित्र प्रधानमन्त्री दाहालले खासै सम्झन लायक केही काम गर्न सकेका छैनन् । उनको नेतृत्वमा बनेको सरकारको सय दिने कार्यकाल अस्थिर बनेर बितेको छ । सरकारको काम कारवाही उपलब्धिविहीन अवस्थामा गुज्रिएको छ । यो अबधिमा प्रधानमन्त्री दाहालले मन्त्री फेर्दैमा समय गुजारेका छन्। एमाले, राप्रपा र रास्पाले सरकार छाडेर बाहिरिए पछि प्रधानमन्त्री दाहाल अल्पमतमा परे । त्यस पछि दोस्रोपटक विश्वासको मत लिनुप¥यो। तापनि, अझै सरकारले पूर्णता पाउन सकेको छैन। उनले लामो समय सम्म धेरै मन्त्रालयलाई मन्त्रीविहीन राखे। सय दिनमा केही न केही महत्वपूर्ण काम हुनुपर्ने हो। तर, प्रधानमन्त्री दाहालको यो अबधी देश र जनताका लागि निरर्थक बनेको छ। उनी कसरी आफू सत्तामा टिक्ने भन्ने चिन्तामा नै आफ्नो समय व्यतीत गरेका छन्। उनको यो १०० दिन अलमलमै बित्यो । एउटा गठबन्धन बनाउने त्यो भत्काउने र फेरि अर्को गठबन्धन बनाउने त्यसमै प्रधानमन्त्री दाहालको सय दिन बित्यो ।जनताको सरोकारका बिषयमा सरकारले कुनै ध्यान दिन सकेन ।
यो सरकार पूर्णरूपमा असफल भएको छ । सुशासनको क्षेत्रमा केही काम भएको छैन। विकास ठप्प छन्। व्यापार घाटा चुलिएको छ । महँगी बढेको बढ्यै छ। सरकार नियन्त्रण गर्न सकेको छैन । यो सरकारले संसद्लाई बिजनेस दिन सकेको छैन । संघीय निजामती ऐन, संघीय शिक्षा ऐन आउन सकेको छैन । विकास र समृद्धिको क्षेत्रमा एउटा पनि उपलब्धि देखिएको छैन । दाहाल एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बने। पुस २६ गते पहिलोपटक विश्वासको मत लिए। त्यसपछि भने उनी नयाँ गठबन्धन बनाउन सक्रिय भए। दुई महिनामै एमाले, राप्रपा, रास्वपासहित दलसँगको गठबन्धन भत्काए। उनले कांग्रेससहितको १० दलीय नयाँ गठबन्धन बनाए। सत्ताका लागि जे पनि गर्ने दाहालको अस्थिर स्वभाव सबैलाई थाहा छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओली संग आफू प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति गरेका थिए। तर, उनले त्यो सहमति कार्यान्वयन गरेनन्। उनले कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाए। सरकारले सय दिनसम्म पूर्णता पाउन सकेको छैन। प्रधानमन्त्री दाहालले अझै ६ मन्त्रालय आफू संग राखेका छन । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी उनकै काँधमा छ। यो सरकारको ध्यान सुरुदेखि कर्मचारी सरुवामा देखिएको छ।
सचिवदेखि शाखा अधिकृतसम्म मनपरी सरुवा गरिएका छन्। सचिव, सहसचिवको ठूलो संख्या हेरफेर भएको छ। कतिपय मन्त्रालयमा कर्मचारीको सेट नै परिवर्तन गरिएको छ। आफूअनुकूल कर्मचारी ल्याउन सरकारको ध्यान केन्द्रित भएको छ। ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। धेरै विभागीय प्रमुख तथा महाशाखा प्रमुख, महानिर्देशकमा सरकारले आफू अनुकूल लाने लैजाने गरेको छ। मिटरब्याजका कारण पीडित सर्वसाधारण मधेसबाट पैदलै काठमाडौं आइपुगे। उनीहरूका समस्यातिर यो सरकारको खासै ध्यान गएन। पीडितसँग वार्ता गरे पनि समस्याको समाधान भएको छैन। लघुवित्तको समस्यालाई उनले बेवास्ता गरेका छन्। प्रचण्ड सरकार सामु थुप्रै समस्या तेर्सिएका छन । तर उनले समस्या समाधान गर्ने तर्फ खासै ध्यान दिएको देखिदैन । सरकार बनाउने र भत्काउने काम बाहेक उनको अरु कुनै ध्यान नभएको संकेत देखियो । यो सय दिनको अबधिमा जनतामा आशाा पलाउने कुनै काम गरेर देखाउन सकेनन् । असन्तुष्टिका स्वर सडकमा पोखिएका छन । दिनौं नागरिक सडकमा मुर्दावादका नारा लगाइरहेका छन । यो खासै देशका लागी शुभ संकेत होइन । यो अबधीमा सत्ताका लागी जे पनि गर्ने र राजनीति इमान बेचेर बदनाम हुने काम भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend