सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा

चितवन २०७९ माघ २५ गते । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ। यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो। निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको व्यवस्थापक घिमिरेले बताए। अहिले नयाँ निर्माण भएको ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य धमाधम भइराखेको उनले जानकारी दिए। “३५ किलोमिटरमध्ये पाँच किलोमिटर जतिमा पहिरोको जोखिम हुने भएकाले त्यस स्थानमा कालोपत्रे कार्य बाँकी राखिएको छ,” घिमिरेले भने, “पहिरोको जोखिमलाई समाधान गरेपछि त्यहाँ कालोपत्रे गरिन्छ, अन्य स्थानमा अहिले कालोपत्रेको कार्य भइराखेको छ।” २० किलोमिटर क्षेत्रमा कालोपत्रे भएर ट्राफिक चिह्नसमेत निर्माण भएका छन्। उनले भने, “अब यो सडक भएर यात्रा गर्न सकिन्छ।”

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत प्रदेश सरकारको लगानीमा यो सडक निर्माण भएको हो। कार्यालयका अनुसार २०७५ फागुनमा ८७ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो। कोभिड–१९, सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले पाँच पटक म्याद थपिएर अहिले सम्पन्न हुने तयारीमा रहेको आयोजनाका व्यवस्थापक घिमिरेले जानकारी दिए ।

सोनाक्षी आशिष निर्माण कम्पनीले ठेक्का लिएको सडकको तीन स्थानमा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा अहिले वैकल्पिक मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन भइराखेको निर्माण कम्पनीका इन्जिनियर सञ्जय महतोले जानकारी दिए। सडक निर्माणको मात्र ठेक्का लिएको कम्पनीले शक्तिखोलादेखि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्मको १० किलोमिटर क्षेत्रमा अहिले कालोपत्रेको काम भइराखेको महतोले बताए। “अन्य स्थानमा कालोपत्रे भइसकेको छ,” उनले भने, “बीच भागको १० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बेस तयारी अवस्थामा राखेका छौँ, दुई हप्ताभित्र काम सकिन्छ।”

निर्माण सामग्री र अन्य कुनै विषयले अवरोध भएको छैन। त्यसैले फागुन १५ गते अगाडि नै काम सम्पन्न हुने गरी तयारी अवस्थामा रहेको इन्जिनियर महतोले बताए। कालोपत्रे सकिएपछि सडक चिह्न र बिग्रेको स्थानमा मर्मत गरिनेछ। अबको दुई हप्तामा यो सडक भएर सवारीसाधनले यात्रा गर्न सक्नेछन्। यस सडकको रिद्धि र शक्तिखोलामा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा पनि पुलको ठेक्का लागिसकेको छ।

पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ। मुग्लिनको सडकमा पहिरो आएर बाटो बन्द भएको अवस्थामा अब साना सवारीसाधन तथा बस यही सडक भएर सञ्चालन गर्न सकिने आयोजनाले जानकारी दिएको छ। दुई पालिका जोड्ने मात्र नभएर राजधानी काठमाडौँ जान अर्को वैकल्पिक सडकका रूपमा विकास भएकाले यसको महत्त्व ठूलो भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend