काठमाडौं १३ माघ । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ।
बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले तयार गरेको मापदण्ड नेपाल गुणस्तर परिषद्ले पारित गरेपछि कार्यान्वयन हुन्छ। परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ।
आम उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन गुणस्तर मापदण्ड तयार गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले बताए। ‘९८ वटा वस्तुको गुणस्तर मापदण्ड तयार गरेर प्राविधिक समितिले पास गरिसकेको छ,’ महानिर्देशक मिश्रले भने, ‘परिषद् बैठकको पर्खाइमा छौं।’ परिषद् बैठकबाट पारित गर्ने विभागको तयारी छ। नयाँ मन्त्री आएकाले छिट्टै बैठक बस्न अनुरोध गर्ने विभागले जनाएको छ ।
विभागका अनुसार ऊर्जा व्यवस्थापन प्रणाली, रेफ्रिजेनेटर, शैक्षिक संस्था, पानीको गुणस्तर, चिया, टेक्सटाइल, विभिन्न तेल, खेलौना, मल, फुटवेयर, रबर लगायतका वस्तुको मापदण्ड तयार गरिएको छ। कतिपय वस्तुको मापदण्ड छ भने केहीको परीक्षण गर्ने विधि, प्रक्रियाको पनि मापदण्ड तयार गरिएको छ। उपभोक्ताले प्रयोग गर्ने वस्तु र परीक्षण गर्ने विधि गुणस्तरीय हुन भनेर स्ट्याण्डर्ड तयार गरेको हो। यो समाचार नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend