पोखरा २ माघ । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र थप तीन जना अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए ।
सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend